किरातः अहिन्दू जनजाति परिचय

“
‘जाति’ भन्नाले जन्मगत एकै नस्ल, प्रकृति,स्वभाव र गर्भाधान (मैथुन) पक्रिया आदिमा समानता रहेको एक खास समूह, उप–उप–समूहलाई जनाउँछ । जस्तै–मनुष्य,गाई, भैंसी, कुकुर,घोडा,बाघ जाति आदि । यी जातिबीचको बिभिन्नतालाई नदेखे पनि मनैमनले एकबाट अर्को जाति भिन्न रहेको तथ्य ठम्याउन सकिन्छ । यिनीहरुबीचमा अन्तरजातिय गर्भाधान सम्भव हुँदैन, त्यसैले आ–आफ्नो छुट्टाछुट्टै जातीय पहिचान अटल रहेको छ । विश्वका समग्र नर–नारीबीच गर्भाधान हुन्छ, तसर्थ मनुष्य एक जाति हो, त उनीहरुले आफूहरुलाई सङ्कीर्ण दायरामा अनेकौं जाति,प्रजाति,उपजाति आदिमा वर्गीकरण गरिल्याएका छन् । सङ्कीर्ण अर्थमा मुनष्यमध्येकै एक खास उपजाति भन्नाले समान नस्ल, साझा भाषा र संस्कृति, साझा भू–भाग भावनात्मक एकताको साथै सामाजिक एकतायुक्त जनसमुदायलाई जनाउँछ, जसलाई राष्ट्र पनि भन्ने गरिन्छ । आर्यजातिले यो ‘जाति’ संज्ञासँग झण्डै मिल्दोजुल्दो पर्यायको रुपमा ‘वर्ण’ शब्द आविस्कार गरेको छ, तर यस शब्दले अप्राकृतिक र कृत्रिम कर्म (पेसा) गत आधारमा वर्गीकृत जनसमूहलई जनाउँछ ।
जस्तै बौद्धिक वा शौर्यगत काम गर्र्ने भनेर तदनुरुप जातिय चिन्ह स्वरुप ‘जनै’ आफू आर्यहरुले धारण गरी ‘ब्राह्मण वर्र्ण’, ‘क्षत्रीय वर्ण’ र बाँकी समग्र मनुष्य जातिलाई चाँहि भारी बोक्ने वा दास कार्य गर्ने भनी उनीहरुलाई ‘जनै’ धारण गर्ने अनुमति नदिई ‘वैश्य वर्ण’ एवम् ‘शुद्र’ वर्णमा कीर्ते विभाजन गरिदिएका छन् । जो होस् यहाँ किरात इतिहास प्राचिन छ । यस प्रजातिको विषयमा प्राचिन संस्कृत ग्रन्थहरु–वेद,उपनिषद्, स्मृति (ईश्वर वचनको स्मरण गरी १८ जना लेखकद्धारा लेखिएका भनिएका हिन्दू धर्मशास्त्रहरु)महाभारत, रामायण, पुराण आदिमा मात्र होईनन्, स्वेताम्बर सम्प्रदाय जैन धर्मग्रन्थहरुमा मात्र पनि होईनन्, बौद्ध धर्मग्रन्थहरु–ललितविस्तर, मूलसर्वास्तिवादविनय सङ्ग्रह,त्रिपिट,अश्वघोषको बुद्ध–चरित्र आदिका साथै पर्सियन इस्लाम धर्मग्रन्थ–जिन्द आवेस्ता,अरबी राफानामा, आइने अकबरीसमेतमा उल्लेख भएको छ । त्यसै गरी किरातको बारेमा त्रिस्तानीहरुको धर्मग्रन्थ–दि बुक अफ सामुयल, न्यू बिब्लिकल अटलसदेखि लिएर चिनियाँ भाषामा शिन्युकाई पौयाड राजा फो–पेन हिङ बी, सुङताङ तथा हान वंशा इतिहासका साथै छिमेकी मुलुक तिब्बतका स्रोङचन गम्पोको इतिहास तथा तिब्बतकै कांग्युर तथा ताङग्युर बौद्ध धर्मका ग्रन्थहरु समेतमा उल्लेख भएको पाईन्छ ।
१. काजीमान कन्दङवा, विश्व वाङमयका किरातहरु, किरात धर्म तथा साहित्य उत्थान संघ, शाखा कार्यालय झापाद्धारा प्रकाशित प्रतिवेदन, २०४६
उपरोक्त प्राचीन ग्रन्थहरुमध्ये ऋगवेद जेठो मानिन्छ । यसको रचनाकालबारे विद्वत वर्गमा मतमतान्तर भएपनि अधिकांश विद्वानहरु ई.पू. १५०० देखि ई.पू. १००० सम्ममा लेखिएको मान्दछन् । यस प्राचीनतम् ग्रन्थमा दार, दस्यु, दैत्य आदिका रुपमा आदिम किरातको उल्लेख भएको छ । तसर्थ किरातको परिचय तथा उसको वंशवृक्ष थाहा पाउन वैदिक तथा समस्त पौराणिक ग्रन्थहरुको अध्ययन हुनु निकै जरुरी छ ।
२. नारदमुनि थुलुङ, किरातको नालीबेली, अङ्कर कन्दङवा, २०४२, पृष्ठ ६,१६
विश्वमानचित्रको पूर्वी–आधा भागको प्राचिन ऐतिहासिक महत्वपूर्ण ग्रन्थहरुमा गौरवमय स्थान ओगट्न पुगेको ‘किरात’ नाम र त्यसको इतिहास आज आफ्नै मूलथलो ठानिएको नेपालमै पनि अपरिचित बनेको छ । यसो किन भयो भने किरातहरु सिन्धुक्षेत्रमा चाहे प्रागैतिहासिक ‘देवासुर–स्रग्राम’ वा ‘समुन्द्र मन्थन’ आदिका नामबाट भनौं चाहे इतिहासकालिन नेपालमा ‘लिच्छवि’ ‘मल्ल’ र ‘शाह’ वंशीसँगका युद्धमा भनौं सबैमा लगातार‘आर्य’ वा त्यसका अनुयायीबाट एकोहोरो पराजित हुँदै आएका छन् । तसर्थ,हरुवा तथा निर्धोहरुको इतिहास र जातिय–पहिचान विश्वमा कहीँ पनि सुरक्षित नरहने ‘मत्स्य नीति’ छ । तसर्थ त्यसको अपवाद नेपालमा मात्र हुने कुरै भएन । यसैले आक्रमक आर्य तिनका धर्म, संस्कृतिद्वारा छिन्नभिन्न भई विगतमा लुकीछुपी हिँड्न परेका किरात प्रजातिका अवशेषहरु आज बिभिन्न भाषाभाषी, विभिन्न धर्मी, बिभिन्न भेषभुषामा नेपालका बिभिन्न भू–भागमा ‘किरात वंशी’ हुनुको ऐतिहासिक ज्ञान विशिष्ट किरातीय पहिचान विच्छेद भई अनौठो ‘जनजाति’ को रुपमा किरातीय एकात्म्यभाव हीन छरपस्ट रहेका पाईन्छन् ।
यस खण्डमा किरात परिचय,त्यसको पुख्यौंली, हिन्दू धर्मशास्त्र (वेदहरु) मा चर्चित सिन्धुवासी किरात अनि नेपाली किरात इतिहासका बारेमा विवेचना हुनेछ । सोझो हिसाबमा आजका साह (मतुवाली खसबाहेक) जनजातिहरु–त्यसो त प्राचिन किरात वा किरात सभ्यताका अवशेषहरु हुन् तर ती मध्ये आज ‘राई’ र ‘लिम्बू’ जातिबाट चिनिने किरातजनसँग केही ऐतिहासिक प्रकास रहेको र अन्य धेरै दृष्टिकोणबाट उल्लेख्य भएको हुँदा तिनको सन्दर्र्भमा चाहिँ विस्तृत छलफल गर्र्नेछौं ।
क) किरात परिचय–प्राचीन किरात भौगोलिक सीमाना र इतिहासः–
सर्वप्रथम किरातहरुको उल्लेख ऋग्वेदमा पाइन्छ । तर अहिलेसम्म मन्त्रहरुमा चाहिँ ‘किरात’ शब्द उल्लेख भएको पाईएको छैन । परन्तु ‘विलात’ शब्दको उल्लेख भएको पार्ईन्छ । ‘र’ र ‘ल’ को अभेद भएको हुनाले ‘किरात’ र ‘किल्ला’ हरुको उच्चारणमात्र फरक देखिन्छ । यसै प्रकारले दोस्रो क्रममा ‘किरात’ शब्द यजुर्र्वेदमा पाउँछौं । यस मन्त्रमा त्यतिखेरका प्रसिद्ध जातिहरुको गणना गर्दा किरात, किम्पुरुष, जम्भक आदिका निवासस्थानसमेत निर्धारण गरेर तोकिएको छ, तर धेरैको अर्थ गराई ठीक छैन ( भ्रामक छ) तेस्रो नम्बरमा, अथर्ववेदका किराती युवतीको वर्णन छ ।
कैरातिका कुमारिक सका खनती भेषजम् ।
हिरन्यमयी भिरभ्रिभिगिरीणामुपसानुष ।।–अर्थवेद, १०।४।१४
अर्थः– एउटी कुमारी किरात किरात तरुनी सुनले बनेको खुर्पाले ठूल–ठूला पर्वतका साना–साना टाकुाहरुमा जडीबुटी–औषधी खनिराखेकि छिन् ।
३. डा. स्वामी प्रपन्नाचार्य, प्राचीन किरात इतिहास, किरातेश्वर प्रकाशन, वाराणसी, २०५१, पृष्ठ ९,१०,५५
उक्त श्लोकमा प्रयुक्त ‘सुनको खुर्पा’ ले पहाडी टाकुरो खन्न सकिँदैन, तसर्थ सुनभन्दा कडा कुनै धातुबाट बनेको परिष्कृत औजारलाई अतिरञ्जनापूर्ण (बढाइचढाइ) शब्दमा वर्णन गर्दा ‘सुनको खर्पा’ भनिएको हो । अतः यस मन्त्र (श्लोक)को आधारमा ‘अर्थर्ववेद युग’ का किरातहरु जङ्गली अवस्थामा थिएनन् भन्न सकिन्छ । किनकी, उनीहरुसँग सुनकाजस्ता उपयोगी परिष्कृत कृषि औजारहरु थिए । तिनका सहयोगले किरातहरु जडीबुटी खन्ने, त्यसको व्यापार गर्ने र खेतीपाती, पशुपालन आदिमा दक्ष थिए भन्ने अनुमान गर्न सकिन्छ ।
किन्तु ‘किरात’ शब्दको उत्पत्ति र शाब्दिक अर्थबारे भने विद्वानहरुबीच अनेकौँ मतमतान्तर छन् । लगभग ५०० ई. तिर लेखिएको भावगत (महापुराण, ५।८।१६) मा ‘शठ (स्वाँठ,मूर्ख’ किरात भनिएको छ । तसर्थ कसैले किरात शब्द आदर–अर्थी होइन, यसलाई ‘असभ्य’ र जङ्गली अर्थको रुपमा प्रयोग भएको पनि भनेका छन् । कसैले कैलाश–पर्वत हिमश्रृङ्खलाहरु भएको अति शुद्ध पवित्र सत्य–भूमिलाई ‘किरात’ भनिएको हो भनेका छन् । किरात मुन्धुमी भाषामा ‘काई + लाशो’ को अर्थ हुन्छ – नाता सम्बन्ध, पवित्र आसन । त्यस बेलाका मानिसहरुले हिमाललाई सर्वोच्च आत्मा–परमात्मा बस्ने पवित्र स्थान भनी ‘काई लाशो’ वा कैलाश भन्दथे । यही ‘काईलाशो’ शब्द अपभ्रंश हुँदै ‘काइलाशी’, ‘काईलाती’, ‘कैराती’ वा किरात भएको हो । यही पवित्र गाउँमा जन्मे हुर्केका, फैलिएका मानव जातिलाई ‘किरात’ भनियो ।
४. गोपाल गुरुङ्ग, नेपालको इतिहासमा अदेखा सच्चाइ, दोस्रो संस्करण, पृष्ठ ६
५. सम्पादक मण्डल, नेपालका जनजातिको धर्म, संस्कार, किरात धर्म तथा साहित्य उत्थान संघ, काठमाडौं उपत्यका शाखा, पृष्ठ १९,२०
यो भाषामा पर्वत वा पहाडलाई ‘कोह’ र माला वा लहरालाई ‘लता–ललिता’ अर्र्थात एकपछि अर्को उभिएका असंख्य पर्वतहरुको मालालाई एकै शब्दमा भन्नुपर्दा ‘कोहलात, कलात’ भनियो त्यसैले आजको (नेपाल सुदुर पश्चिमपट्टी पाकिस्तानी भू–भागमा बग्ने) सिन्ध नदी (किरात भाषामा हिडी) देखि लिए (नेपालको पूर्वपट्टी भारतीय क्षेत्रमा बग्ने) ब्रह्मपुत्र नदी (किरात भाषामा हाङपोडी) सम्मको पर्वतमालालाई ‘कलात’ भनिन्थ्यो । यसैले सम्भवतः कलातवासीलाई ‘कैलाती’ शब्द अपभ्रंश हुँदै ‘किराती’ वा ‘किरात’ भनिएको हो ।
६. उक्त क्र.सं. २ का लेखक र पुस्तक, पृष्ठ ८५,१२९
‘अर्थ नभएको शब्द हुँदैन । अर्थ नभएको नाम पनि हुँदैन । संसारमा कुनै पनि भाषाको शब्द होस्, नाम होस् त्यसमा अवश्य नै अर्थ हुन्छ । ठीक त्यस्तै रीतिले किरात शब्द होस्, नाम होस्, त्यसमा अवश्य नै अर्थ छ । तर दुर्भाग्यले गर्दा आजका किरातहरुले आफ्नै नामको अर्थ बुझ्न छोडे । आफैले बस्ने गाउँको नामको अर्थ बुझ्न छोडे आफ्नो इतिहासलाई त सधैका लागि बिर्सिसके’ भनी चित्त दुःखाउँदै डा. स्वामी प्रपन्नाचार्य ‘किरात’ शब्द संस्कृतबाट अर्थसहित उत्पत्ति भएको ठोकुवा गर्दै अगाडि लेख्दछन् ।–‘प्रकृतमा हाम्रो असली व्याकरण र कोषले किरात शब्दको दुई विभाग गरेको देखिन्छ । एउटा ‘किर र अर्को ‘अत’ । ‘किर’ शब्दको अर्थ समुन्द्र्रपर्यन्त भू–भाग हो । अनि ‘अत’ शब्दको अर्थ निरन्तर गमन गर्नु हो । त्यसो हुँदा किर. समुन्द्र्रपर्यन्तभूभागम–अतन्ति सातत्तेन .गच्छन्ति ये, ते किरातः अर्थात नेपालदेखी लिएर समुन्द्रसम्मको भू–भागमा निरन्तर गएर जसले पराक्रमले जितेर शासन गर्छन्, ती किरात हुन् । आफ्नो बल, बुद्धि, पौरुषले समुन्द्रसम्मको भूमिलाई जितेर शासन गर्ने भएका हुनाले नै ‘किरात’ नाम परेको हो । लेखकका यी सबै विचारमा सहमत हुन सकिन्न । किनकि किरातीले बुझ्ने गरेका देव–देवता (पारुहाङ–सुम्निमा) नदी–नाला,हिमाल–पहाड आदि सबैका आदिम किरातीय नामहरुलाई बलात् मेटेर आर्यकृत, विकृत गरिएका छन् ।
७. उक्त क्र.सं. ३ का लेखक र पुस्तक, पृष्ठ ५१९, ५२०
‘किरात’ को न्वारान चाहे जस्तोसुकै कारणबाट भएको होस्, पूर्वार्ध ऋग्वेदकालमा देव, दानव, सुर, असुर सबै नै आर्य, सबै नै अनार्य छासमिस अर्थात उचनीय जातीय श्रेणीहीन अवस्थामा थिए । किन्तु, उत्तरार्धमा जब विराटपुरुष (ब्रह्मा) बाट चार वर्ण वा चार जातिको उत्पत्ति भएको मिथ्याकथन (झुठ्ठा भनाई) ऋग्वेदमा घुसाइए पश्चात जातीय विशिष्टतावादको प्रादुर्भाव (उदय) भयो फलतः त्यहीँदेखि ‘किरात’ एक छुट्टै प्रजाति स्पष्ट पहिचानबाट संस्कृत साहित्यहरुमा सम्पूर्ण स्थान ओगट्दै आएको पाईन्छ । ‘किरात’ शब्द स्पष्ट रुपमा ‘किरातार्र्जुन संवाद’ (हिन्दू धार्र्मिक पुस्तक) मा पनि देखापरेको छ । यो संवादमा महाभारत युद्ध अगावैका घटनाहरु अर्थात सो युद्धको पूर्वतयारी बारे चर्चा चलेको छ । यस अगाडी र पछाडी लेखिएका संस्कृत ग्रन्थहरुमा किरातलाई इङ्गित गर्ने संज्ञाहरु–मरुत, तृत्सव,कपर्दि,घोर–अघोर,दास, दस्यु (डाँकु) यक्ष (मदनयत), शाक, शकैमर्दी, सूष, श्यन, शुषन, मेष, कोशी, कौशिक, दैत्य नाग,नागा, राक्षस, दानव, कुभंण्ड, कारौती, बाँदर, भालू, वंगृद्ध आदि इत्यादि छन् । पछि–पछिदेव,महादेव, रुद्र रुद्राशा, शोम,भोलानाथ, पशुपतिनाथ संज्ञामा पनि यिनै किरातलाई मानिन्छ ।
८. उक्त क्र.सं. २ का लेखक र पुस्तक, पृष्ठ ३६
उपरोक्त नामहरुबाट मात्र आदिम किरातको परिचय पूर्ण हुँदैन । थप जानकारीको लागि पुनःऋग्वेदमै प्रवेश गर्नुपर्ने हुन्छ । ऋग्वेदका रचयिताहरु पनि आर्यगणकै साथलागी करिब ई.पू. ३००० तिर सर्वप्रथम भारतीय उप–महाद्वीपको सिन्धु क्षेत्रमा आक्रमण गरी भारत प्रवेश गरेका थिए । उनीहरुले यही क्षेत्रमा द्रविड प्रजातिका अनेका जातजाति र आदिम किरातहरुलाई पनि भेटेका थिए । अतः आर्यहरुले त्यहाँका रैथाने बासिन्दाहरुलाई आफूहरुभन्दा हरेक कुरामा सर्वथा भिन्न पाए र कैयौं रैथानेले युद्ध नगरी आत्मसर्पण नगरेकोले उनीहरु देखि आर्यगण क्षुब्ध थिए । यसैले उनीलाई टेरपुच्छर नलाउने जातिलाई ‘शूद्र’ भनी अपमान गर्न थाले । ‘उद्धत प्रकृतिका आर्यहरुलाई स्थानीय सरल आदिवासीप्रति घोर घृणा र शत्रुता थियो । यसैले उनीहरुले आफू पराजित आदिवासी–शूद्रहरुबीच किसिम–किसिमका बाधाहरु खडा गरेर ती शूद्रहरुप्रति घृणा र क्रोध अभिव्यक्त गर्र्ने गर्थे । फलतः यहीँबाट जाति (चार वर्णका) भेद व्यवस्थाको सूत्रपात भएको ठम्याउने धेरै समाजशास्त्रीहरु छन् । आदिवासीविरुद्ध त्यसरी रिस र घिन अभिव्यक्त गरिएका वाणीहरु ऋग्वेद तथा पौराणिक साहित्यमा केलाउने हो भने तीबाट ‘किरात’ को सजीव चित्र उतार्न सकिन्छ ।
वेदले अर्यलाई गोरो,अग्लो र सुन्दर मोहडाको भनेको छ, र किरातलगायतका आदिवादीचाहीँ काला,पहेँला वर्णका र आर्यभन्दा पुड्क, नेप्टा (अनास), वैदिक देवताप्रति उदासिन (अदेव्य), यज्ञ हवन आदि नगर्ने (अयज्वन), भिन्नै धर्मवाला (अन्वर्यत), संस्कृतबाहेकका अस्पष्ट भाषाभाषी (मृधवाक्), लिङ्ग (शिव) पूजक (शिश्न देव्य), स्नान र मन्त्र उच्चारण नगरी भात–खाने आदि भनिएका छन् ।
प्राचीन ऋग्वेद तथा पौराणिक ग्रन्थहरुले गरिदिएका ‘किरात’ को यही परिभाषालाई अङ्ग्रेजीमा अनुवाद ‘मङ्गोलाइद’ भन्ने वर्ग (नरवंशशास्त्र बमोजिम संसारको समस्त मनुष्य प्रजातिहरुको नस्ल अनुसार वर्र्गीकरण गरिएका ५–७ वर्गमध्येको) खडा गरी त्यसैभित्र प्रस्तुत किरात जातिलाई पनि समावेश गरिल्याएको त भरखरैमात्र हो । तर नेपालका केही किरात भने ‘किरात’को पर्र्यायवादी अङ्ग्रेजी शब्द त्यही मङ्गोलाइद वा मङ्गोल आफूलाई ठानी गर्व गर्दै सोही नाममा राजनीतिक दलसमेत खडा गर्न उद्धत देखिएका छन् । किन्तु प्रस्तुत ‘मङ्गोलाइद’ वा मङ्गोल शब्दले किरात जातिको आदिम सभ्यता र इतिहासलाई खुलस्त गर्न सक्दैन । हिन्दू,बौद्ध, ग्रीक, पारसी आदि धार्मिक ग्रन्थहरुले स्वीकार गरेका संज्ञा ‘किरात’ नै हो । हाम्रो मुलुकमा यही शब्दलेमात्र बरु मङ्गोलाइद प्रजातिको पनि आदिम सभ्यता र पृष्ठभूमिलाई पूर्णरुपमा प्रतिनिधित्व गर्न सक्छ ।
९. एच. ई. वार्र्नेस तथा एच बेकर, सोशल थट फ्रम लोर टु साइन्स, खण्ड १, पृष्ठ ७२
१०. डा. नर्र्मदेश्वर प्रसाद, जाति व्यवस्था, राजकमल प्रकाशन, दिल्ली, १९६५ पृष्ठ १६
११. रतिभानु सिंह ‘नाहर’ प्राचिन भारतका राजनीतिक और सांस्कृतिक इतिहास, पृष्ठ ८२
१२. वि.सं. २०५१।५।७ को गोरखापत्र समाचार,मङ्गोल नेशनल अर्गनाइजेशन, राजनीतिक दलले २०४८सालको आमनिर्वाचनको लागि झैँ २०५१ कार्तिकमा हुने मध्यावधि निर्वाचनका लागि पार्टी दर्ताका लागि दरखास्त हालेको तर अस्वीकृत भएको ।
१३. उक्त क्र.सं. ५ लेखक पुस्तक, पृष्ठ ३५
चालिस वर्षको अध्ययन र अनुसन्धानबाट रचित ‘प्राचिन किरात इतिहास’ स्रष्टा स्वामी प्रपन्नचार्यकाअनुसार किरात मङ्गोल होइनन् । मङ्गोल भन्ने शब्द ‘मुगल’ बाट बनेको हो । किरातहरु कुनै हालतले मङगोल हुन सक्दैनन् । संसारमा मङ्गोल अनुहारका मान्छे धेरै छन् भन्नुपर्छ र यहाँ किरातहरु लाखौं वषदेखि बसोबास गर्दै आएका छन् । मङ्गोल शब्द उत्पत्ति भएको ८–९ सय वर्र्षमात्र भयो । मङ्गोल शब्द चलाउने मुगल वंशका सम्राट चंगेज खाँ हुन् । उनी मङ्गोेल मुसलमान थिए । उनका नाति कबलाय खाँले पनि आफूलाई मङ्गोल भने । आज जुन मङ्गोल देश छ, त्यहाँ मङ्गोल पनि छन् र मुसलमान पनि । ती मङ्गोलहरु किरातबाट अलग भए त्यहाँ बसेका हुन् । त्यसैले तिनीहरु पनि किरात नै हुन् ।
१४. डा. स्वामी प्रपन्नाचार्य, हिन्दू धर्म खतरामा छ, समकालीन (साप्ताहिक), २०५१।३।१६
किरातको पुख्यौंलीबारे सर जोन हेमिल्टनको मन भने अर्को छ । उनका अनुसार ई.पू. ४००० अगाडि पर्सिया खाडीको उत्तरी समतल भूमिका दुईवटा सभ्य जाति बस्दथे उत्तरी मैदानमा बस्नेलाई आकाद वंश र दक्षिणी मैदानमा बस्नेलाई शौभार (योद्धा जाति) भन्दथे शौभार अर्थात मङ्गोल वंशका एउटा ठूलो जमानतले ई.पू.३००० मा पूर्व दिशा आई चीन राज्य स्थापना गरेको थियो । यसै मङ्गोल दलको एक शाखा छुट्टिएर काबुल पंजाब भइ गङ्गा नदीको मैदानमा आई बसोबास गर्र्न थाले । कैयौं पुस्तापछि आर्यहरु यिनै शौभर वंशलाई किमत वंश भन्न थलेका हुन् भन्ने प्रमाण महाभारतमा पाइन्छ । हिन्दू धर्मशास्त्र योगिनी तन्त्रमा पनि किरातको उत्पति काबुलको उत्तर दिशामा रहेका कुशद्वीपबाट बसाइँ आएकी ‘कङ्कती’ नाउँ गरेकी सुन्दरी कन्यासँग महादेवको सहवास हुँदा त्यसको परिमाण ती दुईलाई यथासमयमा एक स्वस्थ पुत्रलाभ भयो, जसको उपनाम ‘किरात’ थियो । त्यसै किरात वंशको अठ्ठाईसौँ पुस्तापछि तिनीहरुको वंश शैभार (शवर ?) नामले प्रख्यात भयो । शाके १६११ सम्म शौभार जातिको राज्य कामरुप (आसाम) सम्म फैलिएको थियो भन्ने प्र्रमाण पाइन्छ ।
१५. इमानसिंह चेमजोङ,किरात इतिहास, दोस्रो संस्करण, पृष्ठ २–११
उपरोक्त कथनमा डा. स्वामी प्रपन्नाचार्यले उपहास गर्दै आफ्नै ग्रन्थ ‘प्राचीन किरात इतिहास’ दृढतापूर्वक खण्डन गरेका छन् । उनकाअनुसार योगिनी तन्त्रमा कङ्कती–महादेव पुत्रलाई ‘किरात’ उपनाम दिइएको जस्तो कुरो लेखिएको छैन । किरातहरु चीनबाट शाखा छुट्टिएर मङ्गोल भइ भतुवाका रुपमा आर्यावर्तमा आएका पनि होइनन् । यसका साथै किरातहरुको अनुहार मङ्गोलियनहरुसँग मिल्ने भएकोले किरातहरु मङ्गोलाट भतुुवा भएर आएका हुन् भन्ने प्रथम विदेशी लेखकहरु–सिल्वन लेवी, कर्क पैट्रिक (१८११ई), फ्रान्सिस हेमिल्”








