पञ्चमीमा मनाइएको ऋषितर्पणी मेलामा उत्साह देखिएन

बनेपा, १३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा श्रावण शुक्ल पञ्चमीको दिन आज लागेको ऋषितर्पणी मेलामा खासै उत्साह देखिएको छैन । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन ऋषितर्पणी तथा रक्षाबन्धन मनाइएको हो । यसअघि विसं २०४७, २०२८ र १९६३, १९८२ मा पनि श्रावण शुक्ल पञ्चमीको दिन ऋषितर्पणी तथा रक्षाबन्धन परेको थियो ।

वर्षेनी बिहानैदेखि सो मेलामा रक्षाबन्धन बाँध्ने भक्तजन र तागाधारीहरुको भीड बढे पनि यस वर्ष पञ्चमीको दिन जनैपूर्णिमा पर्व परेकाले भीडभाड कम देखिएको नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिनुभयो । “विगतका वर्षमा जस्तो उत्साह, उमङ्ग अहिले छैन”, उहाँले भन्नुभयो ।

प्राचीनकालदेखि जनैपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा रसुवाको गोसाइँकुण्ड जाने क्रममा भगवान् शिवको एक पाउ परेको र रमेश गिरी नामक एक सिद्धबाबाले त्यस क्षेत्रमा ज्योतिर्लिङ्ग देखेर उत्खनन गर्दा शिवलिङ्ग फेला परेको र त्यसलाई शैलेश्वर महादेवको मन्दिरका रुपमा स्थापना गरेकाले त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको पं दिव्यमणि अधिकारीले बताउनुभयो ।

उहाँले वर्षभरि धारण गर्ने जनैलाई रक्षाबन्धनको दिन अभिमन्त्रण गरेर विभिन्न धार्मिक कर्ममा प्रयोग गर्दा त्यसले लाभ प्राप्त हुने उल्लेख गर्दै रक्षाबन्धन ब्राह्मण समुदायको सबैभन्दा ठूलो पर्व भएको जिकिर गर्नुभयो । आजैको दिन गोसाइँस्थानमा २१ कुल पितृको समेत उद्धार हुने धार्मिक विश्वास रहेको बताइएको छ । सो स्थानबाट पवित्र नैमिषारण्य क्षेत्रसमेत नजिकै पर्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *