फोरममा विवाद : संविधान दिवस कि, ‘ब्ल्याक आउट’ !

काठमाडौं, असोज २ । प्रदेश २ सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमभित्र असोज ३ मा मनाइने संविधान दिवसलाई लिएर मतान्तर देखिएको छ। केन्द्रीय सरकारमा समेत सहभागी फोरमका दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छन्। तर पार्टी प्रदेश समितिकी संयोजक रेणु यादवले आइतबार साँझ विज्ञप्ति जारी गर्दै आफ्ना नेताकार्यकर्तालाई संविधान दिवसमा सहभागी नहुन ह्विप जारी गरेकी छन्।

यादवले विज्ञप्ति निकालेको केही बेरमै संघीय सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले सामाजिक सञ्जालमा फोरमद्वारा संविधान दिवसको विरोध गर्ने कुनै औपचारिक निर्णय नभएको लेखेका थिए।

सोमबार दिउँसो फोरमका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति नै निकालेर असोज ३ मा भनिएको ‘कालो दिवस’मा सहभागी नहुन निर्देशन दिएका छन्। रेणु यादवले निकालेको विज्ञिप्तमा भने बुधबार साँझ बत्ती निभाएर ‘ब्ल्याक आउट’समेत गर्न निर्देशन दिइएको छ।

फोरम अध्यक्ष यादवका स्वकीय सचिवले प्रदेश २ को नाउँमा पार्टीबाट आएको विज्ञप्ति केन्द्रसँग कुनै सल्लाह नगरी आएको टिप्पणीसमेत गरेका छन्। यसबारे फोरमको पदाधिकारी बैठकमा छलफल हुने उनको भनाइ रहेको खबर अन्नपूूर्णले छापेको छ ।

यसअघि संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपालले विरोध गर्ने र त्यस दिन साँझ ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको थियो। राजपाले पार्टीका अध्यक्षमण्डलकै सबै नेतालाई यस्ता विरोध कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला खटाएको छ।

सँगै प्रदेश २ मा फोरम नेतृत्वकै सरकारमा मन्त्री रहेका राजपाका नेतालाई समेत पर्सादेखि सप्तरीसम्मका जिल्लामा हुने विरोध सभाको नेतृत्व गर्न निर्देशन दिएको छ। राजपाको निर्णयपछि अप्ठ्यारोमा फसेको फोरमले केन्द्र र प्रदेश गरी दुई तहमा दुई थरी मत सार्वजनिक गरेको छ। यसले फोरमभित्र समेत विवाद सिर्जना गरिदिएको छ।

केन्द्रीय कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिविपरीत सर्कुलर जारी गरे पनि फोरम नेत्री रेणु यादवले प्रदेश २ मा फोरमका नेताकार्यकर्ता विराधमै उत्रने दाबी गरिन्। ‘मधेशमा संविधान दिवसको विरोध अवश्य हुन्छ’, उनले भनिन्। नेत्री यादव फोरमकी केन्द्रीय उपाध्यक्षसमेत हुन्। अर्का केन्द्रीय उपाध्यक्ष लालबाबु राउत प्रदेश २ का मुख्यमन्त्री हुन्।

यता केन्द्रीय उपमहासचिव तथा फोरमका केन्द्रीय पार्टी कार्यालय प्रमुख अधिकारीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा रहेको हाम्रो असुन्तष्टि यथावत् रहे पनि सविधान दिवसकै विरोध गर्ने वा कालो दिवस मनाउने निर्णय फोरम नेपालको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =