बेन्फिकाका ९ खेलाडीले गोल गरे, फेयरलेस २८–० ले पराजित

“एजेन्सी, असोज २ । पोर्चुगलमा एउटै खेलमा एउटै क्लबले दुई दर्जन भन्दा पनि बढी गोल गरेको छ ।
पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ ।
दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८–० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन ।
दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६–० को अग्रता लियो । दोस्रो हाफमा थप १२ गोल भयो । बेन्फिकाका ९ खेलाडीले गोल गरे । बेन्फिकाले महिला टिम सन् २०१७ को अन्त्यतिर गठन गरेको हो । तर नयाँ टिम भएकाले उसले दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्नु परेको हो ।
गएको अप्रिलमा क्लबमा अनुबन्धित भएकी डार्लेनी डी सुजा एक्लैले ८ गोल गरिन् । पोर्चुगलको फुटबल इतिहासमा सिनियर स्तरको खेलमा यो सबै भन्दा फराकिलो जित हो । यसअघि सन् १९७१ मा पोर्चुगिज कपमा स्पोर्टिङ्गले २१–० को जित निकालेको थियो ।”








