विद्युतीय सवारीको आगमनसँगै चार्जिङ्ग स्टेशनको आवश्यक्ता बढ्दो

“
अाश्विन १, काठमाडौं । विश्वमा प्रदुषणको मात्रा बढेपछि विद्युतीय गाडीका उत्पादनमा जोड दिन थालिएको छ । वातावरण अनुकल यस किसिमका गाडीहरु सस्ता र इन्धन खपत नगर्ने भएपछि विश्वभर नै दिनानुदिन यसको माग बढिरहेको बताइन्छ ।
विभिन्न ब्राण्डका उपलब्ध विद्युतीय कार र तीनले वातावरण संरक्षणमा खेल्ने सकारात्मक भूमिकालाई जोड दिँदै यसको उत्पादन विकास र विस्तारले प्राथमिकता पाएको जानकारहरुको दाबी छ ।
विश्वकै जलस्रोतको धनी राष्ट्र नेपालमा पनि अथाह विद्युत उत्पादन क्षमता भएसँगै यहाँ पनि विद्युतीय कारको माग बढ्ने विज्ञहरुको भनाई छ । सेतो सुन मानिने जलविद्युतमा पछिल्लो एक दशकमा नेपालको धितोपत्र बजारमा चार गुणाले बढोत्तरी आएको छ । कारोबार रकमका हिसाबमा तेश्रो स्थान र २ सय ९ कम्पनीको कारोबार हुने नेप्सेमा १८ वटा मात्र त जलविद्युत्का कम्पनी मात्र रहेका छन् ।
अथाह जलभण्डार रहेसँगै नेपाल लगभग लोडसेडिङ्ग मुक्त हुनु र ४ हजार ६ सय ४१ मेगावाट निर्माण चरणमा रहनुले विद्युतको उपलब्धता बढ्ने तथ्याकंले देखाउँछ ।
भविष्यमा नेपालमा प्रशस्त ऊर्जा उत्पादन हुने र वातावरणमैत्री विद्युतीय कारको बढोत्तरी आउने सम्भावना रहेकामा पेट्रोल पम्पको विस्थापन वा विकल्पका रुपमा विद्युतीय चार्जिङ्ग स्टेशनको सम्भावना देखिन्छ ।
लामो यात्राका क्रममा चार्ज सकिने समस्यालाई समाधान गर्नका निम्ति चार्जिङ स्टेशनको अभावलाई मध्यनजर गर्दै नाडा अटो शो २०१८ मा अग्नि इन्कर्पोरेटले महिन्द्राको विद्युतीय कार इभेरिटो, ह्युण्डाईको आयोनिक, कियाको सुल ई ब्राण्डका कारहरु सार्वजनिक गरेको थियो । इलेक्ट्रोनिक्स सवारीको उपस्थितिले नेपालमा पनि विद्युतीय कारको माग बढेको र चार्जिङ्ग स्टेसनको आवश्यकता र अवसरको ढोका खट्खटाएको देखिन्छ ।
निकट भविष्यमा नेपालमा प्रशस्त ऊर्जा उत्पादन हुने र वातावरणमैत्री विद्युतीय कारको बढोत्तरी आउने सम्भावना रहेकामा पेट्रोल पम्पको विस्थापन वा विकल्पका रुपमा विद्युतीय चार्जिङ्ग स्टेशनको सम्भावना देखिन्छ ।
महिन्द्राका लागि अग्नि इनकर्पोरेटले फास्ट चार्जर र कियाका लागि कण्टिनेन्टल ट्रेडिङले चार्जिग स्टेशन भित्र्याएका छन् । महिन्द्राको फास्ट चार्जर नाम दिएको चार्जिङ्गबाट १ घण्टा ४५ मिनेटमा कार फुल चार्ज हुने कम्पनीको दाबी छ । २ सय एम्पियर ब्याट्रीजडित भारतमा निर्मित हो । डीसी चार्जरका रुपमा ५ केभी आउटपुट, ड्युअल चार्जका विशेषता छन् । एउटा कार फूलचार्ज गर्दा १८ युनिट मात्र विद्युत खपत गर्ने कम्पनीले मकालुखबरलाई जानकारी दिएको छ । यसको मूल्य १८ देखि २० लाखसम्म पर्न आउँछ ।
यसैगरी किया कम्पनीको किया डीसी फास्ट चार्जरबाट ३० मिनेटमैं फूलचार्ज गर्न सकिने कम्पनीको दाबी छ । कुरिनटारमा राखिसकिएको र बुटवल, बर्दिबास, इटहरीलगायतका स्थानमा पनि निकट भविष्यमा राख्ने योजना भएको कम्पनीका बिक्री प्रबन्धक प्रदीप बरालले जानकारी दिएका हुन् । यस चार्जरको मूल्य २५ लाख हाराहारी हुन आउने बरालले बताए ।








