चीनसँग नेपालको गठबन्धन थोरै अवधिका लागि मात्रै– भारतीय सेना प्रमुख

“
नयाँदिल्ली, असोज १ । भारतीय सेना प्रमुख विपिन रावतले चीनसँग नेपालको गठबन्धन थोरै अवधिका लागि मात्रै भएको बताएका छन् ।
पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को आइतबारको समापन समारोहपछि आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा ‘भौगोलिक बाध्यता’ का कारण नेपालले चाहेर पनि चीनसँगको गठबन्धन टीकाउन नसक्ने भन्दै उनले नेपाल–चीन गठबन्धन थोरै अवधिका लागि मात्रै भएको बताएका हुन् ।
उनले भूगोलकै कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान र चीनतर्फ ढल्किन नसक्ने दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
माइलेक्स–१८ नामक सैन्य अभ्यासमा नेपाल सहभागी नभएको र चीनतर्फ बढ्दो घनिस्टताबारे गरिएको प्रश्नको जवाफ दिँदै रावतले नेपाल र भूटान भारतबाट अलग रहनै नसक्ने बताएका हुन् ।
‘नेपाल र भुटानजस्ता देश प्राकृतिकरुपमा भारततर्फ ढल्किएका छन्, उनीहरुको भौगोलिक अवस्थाको कारण । उनीहरुको भौगोलिक अवस्थाले उनीहरुलाई चीनभन्दा पनि भारततर्फ बढी ढल्काएको छ । हाम्रो नेतृत्वले नेबरहुड फस्ट र एक्ट इस्टको नीति अपनाएको छ’ उनले भने,– ‘बिमस्टेक त्यही प्रयासको हिस्सा हो । हामी हाम्रो छिमेकीहरुसँग सम्बन्ध सुधार गरिरहेका छौँ । हामी ठूलो राष्ट्र हौँ, हामीले अगुवाई गर्यौँ भने अरुहरु हामी पछिपछि आउने छन् ।’
तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले भने नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएको हुँदा सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताए ।
साताव्यापी उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागी भएनन्। दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो।
त्यसैगरी सोमबारदेखि बैंककमा सुरु हुने बिमस्टेक राष्ट्रका उच्च अधिकारीहरुको बैठकमा कनेक्टिभिटी मास्टर प्लानलगायतका एजेण्डामा छलफल हुने बताइएको छ। तीन साता अघि काठमाडौंमा सम्पन्न शिखर सम्मेलनले मास्टर प्लानलाई चाँडै टुंगोमा पुऱ्याउने निर्णय गरेको थियो।
“








