कागेश्वरी मनोहरा नगरपालिकाले कागेष्टमी मेलामा सार्वजनिक बिदा दिने

“
काठमाडौँ, भदौ ३१ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा लाग्ने कागेअष्टमी मेलाको सम्पूर्ण तयारी पुरा भएसँगै नगरपालिकाले असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरको छ ।
नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा असोज १ गते कागेष्टमी मेलाका दिन नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक वर्ष असोज १ गते भव्य मेला लाग्ने गरेको छ । यस मन्दिरमा मेला भर्नको लागि काठमाडौं उपत्यकाका साथै देश विदेशबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ । कागेश्वरीमा मनोहरा नगरपालिका–१ गलफेदीका वडा अध्यक्ष मुकुन्द गजुरेलले कागको रूपमा रहेका कागेश्वर महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।
कागेश्वरी महादेव मन्दिरको नामबाट नै नगरपालिकाको नामकरण भएको हुँदा असोज १ गते नगरपालिकाले नगरपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कागेश्वरी मनोहरा–१ गागलफेदीका वडा अध्यक्ष मुकुन्द गजुरेलले बताए ।
मेलालाई व्यवस्थित बनाउनको लागि श्यामबहादुर लामाको संयोजकत्व मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिका संयोजक लामाले मेला भर्न आउने भक्तजनहरुले सहज रुपमा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाइएको बताए । उनले मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक स्वास्थ्य शिविर खानेपानी व्यवस्थापन सरसफाई लगायतका कामहरु सम्पन्न भएको जानकारी दिए ।
कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी महादेवको नामबाट नै नगरपालिकाको नाम रहेको बताउँदै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले काम अगाडि बढाएको बताए । ‘धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्नको लागि नगरपालिका प्रतिबद्ध छ’, उनले भने,‘हामीले कागेश्वरी महादेवलाइ राष्ट्रिय रूपमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गछौं ।’
कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले मेलामा सहभागी भइ आन्तरिक पर्यटनको प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरे । कागेश्वरी मन्दिरसम्म पुग्नको लागि चावहिल–जोरपाटी–डाँछी–भद्रवास–आलोपोट,चाबहिल सुन्दरीजल मेलम्ची पुल आलापोटबाट र चाबहिल जोरपानी ब्रम्हखेल गागलफेदी हुँदै पनि कागेश्वरी महादेव भएको स्थानमा पुग्न सकिने वडा अध्यक्ष गजुरेलले जानकारी दिए ।
कागेश्वरी महादेव मन्दिरको धार्मिक महत्व
काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन मेला लाग्ने गछ । मेलाको धार्मिक एवम् सास्कृतिक विश्वास रहिआएको छ । प्रदेश नम्बर ३ का सांसद रामेश्व फुँयालका अनुसार कागेश्वरी मन्दिर किंवदन्ती अनुसार कागले गाईको दुध पहरामा रहेका शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको जनविश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको छ ।
शिवपुरी नागार्जुन राष्टिय निकुञ्जमा कागेश्वरी महादेवको मन्दिर रहेको छ । कागेश्वरी मनहरा नगरपालिका– १ गागलफेदीमा अवस्थित यो धार्मिक तथा पर्यटकीयस्थल पनि हो । मेलामा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ । कागेश्वरी मेलामा हिन्दु धर्मालम्बीको साथै बौद्ध धर्माबलम्बीहरू पनि त्यतिकै ठुलो संख्यामा सहभागी हुने गरेका छन् ।
सत्ययुगमा सतीदेवीको अंग पतन भएर यहाँ एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ ।
यस क्षेत्रबाट राजधानी काठमाडौंको दृष्यावलोकन समेत गर्न सकिन्छ । वडा अध्यक्ष गजुरेले कागेश्वरी महादेव मन्दिरलाई काठमाडौंको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि काम भइरहेको बताए ।
“








