प्रतिनिधिसभाको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, भाद्र, ३१ । प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गरेका थिए ।

सांसदद्वय सञ्जयकुमार गौतम र गगनकुमार थापाले विधेयक पारित गर्नुअघि बालबालिकासम्बन्धी विधेयक, २०७५ मा बालबालिका आयोग गठन, बालबालिका संरक्षण मापदण्डलगायत विषय छुटेको भन्दै सच्याउन माग गरे ।

सांसद प्रेम सुवालले मौलिक अधिकार कार्यान्वयन गर्न आएका विधेयक कार्यान्वयनमा ल्याउनुपर्छ भने । सांसद राजनकुमार केसी, पुष्पा भुसाल र अञ्जना शिसङ्खेले बालबालिका विधेयकमाथिको छलफलमा भाग लिएका थिए । सदनको अर्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

मौलिक हकका १५ विधेयक पारित

प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयनसम्बन्धी हालसम्म १५ विधेयक पारित गरिसकेको छ । ती वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी सातौँ संशोधन विधेयक २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ लगायतका छन् । संविधानमा असोज २ गतेभित्र सदनले मौलिक अधिकारसम्बन्धी विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =