चितवनमा १६ अर्ब राजश्व संकलन

किशोर खनाल भरतपुर, साउन १२ ।

आर्थिक वर्ष २०७३/७४ मा आन्तरिक राजश्व कार्यालय चितवनले कुल १६ अर्व ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सबैभन्दा बढी अन्तः शुल्क (रक्सी, वियर, सूर्तीजन्य पदार्थ) बाट संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालय भरतपुरले कर शीर्षक अन्तर्गत अन्तः शुल्कमा मात्रै १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएको छ । जसमध्ये रक्सी र वियरबाट मात्रै १३ अर्व ५२ करोड ३५ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा भने रक्सी र वियरबाट मात्रै कुल ९ अर्ब ६६ रकोड २१ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । एक आर्थिक वर्षको अन्तरालमै रक्सी र वियरबाट झण्डै ४ अर्ब राजश्व थप भएको छ ।
चितवन र नवलपरासी दाउन्ने क्षेत्रसम्मका भागमा रहेका रक्सी र वियर उद्योगले तिरेको राजश्वको हिस्सा कुल राजश्वको ७५ प्रतिशत रहेको छ । ‘बार्षिक रुपमा रक्सी र वियरको खपत बढिरहेको छ, आन्तरिक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी डिल्लीराम पौड्यालले मदिरा पिउनेको संख्या बढेको बताए ।
कुल राजश्वमा अन्तः शुल्कको उच्च योगदान र अन्तः शुल्कमा पनि रक्सी र वियरको अधिकतम योगदान रहेको पौड्यालले जानकारी दिए । कुल ७ वटा रक्सी उद्योगमध्ये चितवनमा ३ र नवलपरासीमा ४ तथा चितवनमा ३ र नवलपरासीमा २ वटा वियर उद्योग रहेका छन् । सबैभन्दा बढी कर तिर्नेमा गोर्खा बु्रअरी रहेको छ । आन्तरिक राजश्व कार्यालय चितवनले चालु आर्थिक वर्षको लागि कुल १९ अर्व ७४ करोडको राजश्व संकलन लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *