‘भारतीय नोट भुटानले साट्न सक्ने हामीले किन नसक्ने, भारतले साट्न नचाहेको हो ?’

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक सांसदले भारतीय नोट नसाटिएको गुनासो पोखेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा भारत सरकारले गरेको नोटबन्दीपछि विभिन्न देशमा रहेका भारतीय रुपैयाँ साटिए पनि नेपाली बैंकहरुमा रहेको भारतीय रुपैयाँ नसाटिएकोमा नेकपाका सांसद नवराज सिलवालले गुनासो पोखेका हुन् ।

उनले पाँच सय र हजारको भारतीय नोटहरु नेपाली बैंकमा हुदाँ पनि साट्न नसकिएको तर्फ सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। ललितपुरबाट निर्वाचित सांसद सिलवालले भारतीय रुपैयाँ भुटानले साट्न सक्ने तर नेपालले किन नसक्ने भन्दै सरकारको क्षमतामाथि प्रश्न समेत उठाएका छन् ।

‘भुटानले साट्न सक्ने तर हामीले किन नसक्ने ? सरकार र भारतका बीचमा सम्बन्ध बिग्रेको हो,’ सिलवालले भने, ‘ यसले जनतासँग सम्बन्ध राम्रो बनाउँदैन ।’

सिलवालले नेपाली बैंकमा रहेका भारतीय रुपैयाँ नसाटिएको विषयमा चिन्ता व्यक्त गर्दै अर्थमन्त्रीसँज जवाफ समेत मागेका छन्।

सिलवालले भारत सरकारले गरेको नोटबन्दी पछि ९९ दशमलव ३ प्रतिशत नोट फिर्ता भएको तर नेपालको पैसा फिर्ता नभएको बताए। उनले भने, ‘हाम्रो बैकमा रहेका नोट किन साटिएन ? भारत सरकारले हाम्रो पैसा नसाट्न चाहेको हो कि ? बैङ्कमा रहेको नोट नसाटिँदा भारतसँगको सम्बन्ध चिसो हुने हो कि ?’

अर्थमन्त्रीले राम्रोसँग भारतसँग कुरा गर्न नसकेको विषयमा आशङ्का गर्दै सिलवालले भने, ‘अर्थमन्त्रीलाई यस विषयमा सिरियस भएर कुरा उठाउन आग्रह गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =