लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत वितरण

“
लमजुङ , भदौ ३१ । गत बुधबार आएको बाढी पहिरोबाट प्रभावित लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत वितरण गरिएको छ । बाढी पहिरोमा परी मृत्यु भएका मस्र्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई राहत वितरण गरिएको हो ।
बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मस्र्याङ्दी गाउँपालिकाबाट जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ यसैगरि पीडित परिवारलाई प्रतिघर ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय र मस्र्याङ्दी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत् आयोजनाबाट प्रतिपरिवार ३० किलोका दरले चामल, चार किलोका दरले दाल, एक लिटरका दरले तेल र एक किलोका दरले नून वितरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशीलगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडाको सेटसहितको गैरखाद्य सामग्रीको राहतस्वरुप वितरण गरिएको छ ।
राहत वितरणसँगै अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारिएकोमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ जसबाट बेँशीशहरदेखि ङादीसम्म सडक खुलेको छ । बेँशीशहर चामे सडक खण्डको रामबजारबाट उत्तरतर्फको अवरुद्ध सडकसमेत खुलिसकेको ढकालले जानकारी दिएका छन ।
।
“








