‘काम गर्न सक्नुहुन्न, सहजताका साथ ठाउँ दिनुस्’ स्वास्थ्यमन्त्री


साउन १२, काठमाडौँ । नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नेतृत्व परिवर्तनको सङ्केत गरेका छन् ।
आज बिहीबार वीर अस्पतालको १२८ औँ वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वीर अस्पतालको सेवा दिनानुदिन खस्कँदै जानुमा नेतृत्व तहको कमजोरी औल्याउँदै प्रभावकारी काम गर्न नसक्नेले नयाँ र सक्षमलाई स्थान दिनुपर्ने जिकिर गरे । उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ माग्दै उनले भने–‘तपाईँहरू धेरै पुराना हुनुहुन्छ । उमेर ढल्दै गएका अनुभवी पाका मान्छेहरूले धेरै कुरा गर्न सक्नुहुन्न भने सहजताका साथ नयाँ नेतृत्व ल्याउने गरी सोच्नैपर्छ । नयाँ र सक्षम नेतृत्व वीरको माग पनि हो ।’
पोखरेलले वीरका उपकुलपतिदेखि तल्लो कर्मचारीसम्मलाई अत्याधुनिक मेसिन नचलेकोबारे समीक्षा गर्न निर्देशन दिँदै प्रविधिलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने औंल्याए ।
यस अघि दुई पटक स्वास्थ्यमन्त्री समेत भईसकेका पोखरेलले विगतमा मिर्गौलाको बिरामीले वीरमा डायलासिस सेवा नपाएकै कारण ज्यान गुमाउनु परेको कुरा उठाउँदै मेसिनलाई आराम नचाहिने भए पनि वीर किन चल्न नसकेको प्रति प्रश्न गरे । ‘मेसिन थाक्दैन । मेसिनलाई आराम चाहिँदैन । तैपनि अस्पताल किन चलिरहेको छैन ? प्रस्ट जवाफ दिनुस् ।’ उनले डायलाइसिस सुचारु हुन नसक्नुको कारण माग्दै अस्पतालका उपकुलपतिदेखि चौकीदारसम्मलाई यस्ता उपकरण बनाउन सकिन्छ कि सकिँदैन भनेर समीक्षा गर्न भने ।
पोखरेलले वीर अस्पतालको समग्र सुधारमा वीरमा जागिर खान आउने मानसिकताले काम नहुने दाबी गरे । सामान्य गतिविधिले वीर अस्पतालको सुधार सम्भव छैन । सुधारको दिशा ठिक हुनुपर्छ र तागत पनि त्यही ढङ्गले लगाउनुपर्छ । अस्पतालले अहिलेको नेतृत्वसित यसको माग गरेको छ ।’
पोखरेलले सरकारले वीर अस्पतालका लागि अर्बौ बजेट विनियोजन गरे पनि काम नभएको प्रति पैसा र श्रोतको समस्या नभई नेतृत्वकर्ताकै समस्या भएको जिकिर गरे ।
‘हामीले हाम्रा मान्छेलाई दिल्ली, सिंगापुर किन पठाउने ? देश हो भने त्यसमा भएका सेवासुविधा प्राप्त हुन्छ भन्ने प्रत्याभूति गर्न सक्नुप¥यो र वीरले ती कुरा गर्न सक्दैन भने कसले गर्न सक्छ ?’ उनले प्रश्न गरे ।
उनले नाफा कमाउने उद्देश्यले नागरिकहरूले निजीकरणमा विश्वास गर्दै स्वास्थ्य तथा शिक्षा जस्ता कुरालाई मौलिक हकको रूपमा लागु गर्न नसकिने समेत स्पष्ट पारे ।
स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नु नै अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री पोखरेलले हिजो मन्त्रालयको पदभार सम्हाल्ने क्रममा निजी क्षेत्रबारे नबोल्नुको मुख्य कारणमा नेपालको सरकारी स्वास्थ्य प्रणाली कमजोर रहनु मुख्य कारण भएको बताए ।

पोखरेलले पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफू पनि स्वास्थ्य क्षेत्रको विकासका लागि आएकाले नयाँ कामसँगै पूर्वमन्त्री थापाले ल्याएका कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *