नोबेलद्वारा हप्तामा चार ठाउँमा स्वास्थ्य शिविर, ३५ सय बिरामीको निःशुल्क उपचार (भिडियाे सहित)

“
भाद्र ३०, विराटनगर । नोबेल शिक्षण अस्पतालले यो साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी तीन हजार पाँच सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालन गरिएको शिविरबाट ३ सय २७ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । शिविरमा ६३ जनाको भिडियो एक्सरे र ४७ जनाको ल्यावटेष्ट गरिएको छ । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए ।
यता, मोरङको बेलवारी नगरपालिका–८ बिहिबारेमा सोमबार सञ्चालन गरिएको शिविरबाट ६ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्यावटेष्ट र २१ जनाको ईसीजी गरिएको छ । शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।
शिविर सञ्चालन भएको समयमा बर्षा भएतापनि बिरामीहरु बर्षातको प्रवाह नगरी उपचारका लागि आएका थिए । नोबेल अस्पतालले गाउँ–गाउँमा नियमित रुपमा शिविर सञ्चालन गर्दै आएकाले धेरै राहत मिलेको शिविरमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् ।
नोबेल अस्पतालले सञ्चालन गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर बिरामीको उपचार गर्ने गरिएको छ
त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–६ सुकचरमा सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । स्थानीय नारायण माध्यमिक बिद्यालयमा भएको शिविरमा ६७ जनाको भिडियो एक्सरे, ३६ जनाको ल्यावटेष्ट र २८ जनाको ईसीजी गरिएको छ । त्यस्तैगरी, मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरबाट २ हजार १ सय ७६ जना बिरामीले स्वास्थ्य लाभ लिएको नोबेल अस्पतालले जनाएको छ ।
शिविरमा २ सय ८३ जनाको भिडियो एक्सरे, १ सय ७३ जनाको इसीजी र २ सय ९० जनाको ल्याबटेष्ट गरिएको छ । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी मात्रामा आएका थिए । नोबेल अस्पतालले सञ्चालन गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर बिरामीको उपचार गर्ने गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ ।
स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीहरुलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँने उद्धेश्यले ग्रामिण क्षेत्रमा केन्द्रित गरी नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।
हेर्नुहाेस भिडियाे रिपाेर्ट
https://www.youtube.com/watch?v=8b5F4jd-E7U&feature=youtu.be”








