गरिबीवाट पारपाचुके पाउन कनिकुथी !

“
कसैले नरुचाउने बिषय हो–गरिबी । सबैको साझा दुस्मन हो– गरिबी । सर्बाधिक चुनौतिपूर्ण र ब्यापक बिषय पनि हो–गरिबी । प्रतिदिन प्रति ब्यक्ति २१०० क्यालोरी भोजन प्राप्त गर्न नसक्नु, मातृ तथा शिशु मृत्य दर उच्च हुनु, बेरोजगारी तथा अर्धबेरोजगारी दर उच्च हुनु, बिद्युत, टेलिफोन, अस्पताल, पिउने पानी जस्ता सामाजिक सेवा प्राप्त गर्न नसक्नु गरिबका कारकहरु हुन ।
प्रतिब्यक्ति चिकित्सकको उपलब्धता, नागरिक शिक्षा, लैंगिक सहभागिता, रोजगारीको उपलब्धता, सडक सुबिधाको पहूँच, कूल गार्हस्थ्य उत्पादनमा प्रथम, द्वितिय तथा तृतिय क्षेत्रको संरचना गरिबीका स्तर निर्धारक तत्वहरु हुन ।
गरिबी निरपेक्ष र बहुआयमिक गरी २ प्रकृतिको हुन्छ । हातमुख जोर्ने समस्या हुनु, लुगाफाटोको अभाब हुनु, सुरक्षित बासस्थानको अभाब हुनु निरपेक्ष गरिबी हो भने, मात्यु तथा शिशु मृत्युदर उच्च हुनु, स्वच्छ पिउने पानी अभाब हुनु, सौचालय प्रयोग गर्ने ल्याकत नहुनु, गुणस्तरीय शिक्षा हासिल गर्न नसक्नु, स्वास्थ्य सुरक्षाको अभाब हुनु, कृषि पेशावाट माथि उठन नसक्नु, उत्पादनमा प्रबिधिको प्रयोग गर्न नसक्नु बहुआयमिक गरिबी हो । यस हिसाबले नेपालमा निरपेक्ष गरिबी २१.१६ प्रतिशत छ भने बहुआयमिक गरिब ४१ प्रतिशत छ ।
सामान्यता दैनिक १ अमेरिकी डलर भन्दा कम आम्दानीमा जीबनयापन गर्नुलाई गरिबी मानिन्छ । बिश्व बैंकले दैनिक १.२५ अमेरिकी डलर भन्दा कम आम्दानीमा जीबन गुजारा गर्ने ब्यक्तिलाई निरपेक्ष गरिबीमा सूचिकृत गरेको छ । अहिले ११४ रुपैयाँले एक अमेरिकी डलर खरिद गर्न सकिन्छ । यस हिसाबले मासिक ३ हजार ४२ रुपैयाँ वा बार्षिक ४१ हजार ४० रुपैयाँ भन्दा कम आम्दानीमा जीबन गुजारा गर्नु गरिबी हो । बिश्व बैंकको मापदण्डलाई आधार मान्दा मासिक ३ हजार ९७५ रुपैयाँ वा बार्षिक ४७ हजार ७०० रुपैयाँ भन्दा कम आयमा बाँच्नु गरिबी हो । भलै पछिल्लो समयमा दैनिक १.९० अमेरिकी डलर भन्दा कम आयमा जीबन निर्वाह गर्ने समुहलाई गरिबीको दज्र्यानी दिइएको छ ।
कल्याणकारी राज्यको मुल ध्येय गरिबी निरुपण नै हो, तर धनी र गरिब बीचको आर्थिक असमानता अधिक हुनु, गाउँ र शहर बीचको आर्थिक बिभेद फराकिलो हुनु, स्रोत साधन सीमित ब्यक्तिमा केन्द्रीत हुनु कल्याणकारी राजको निमित्त चुनौतिपूर्ण कुरा हो ।
२० प्रतिशत धनीमानीले हातमा ८० प्रतिशत स्रोत साधन कब्जा गर्नु, गरिबी शहरमा १५ प्रतिशत हुँदा गाउँमा २७ प्रतिशत पुग्नु, धनी र गरिबी बीचको सूचक अर्थात गिन्नी कोफसेन्ट ०.३२८ हाराहारी हुनु गरिबी निवारणको मार्गमा तेर्सिएका ब्यवधानहरु हुन् ।
ल्याटिन अमेरिका, सबसाहरा र दक्षिण एशियामा गरिबी जकडिएको छ । प्रतिदिन १.९ अमेरिकी डलरमा जीबनयापन गरिरहेको संख्या सन् २०१५ मा बिश्वभर ७० करोड २१ लाख रहेको छ । दक्षिण एशियाको कुरा गर्ने हो भने, २३ करोड १३ लाख मानिस निरपेक्ष गरिबीमा छन् । यस हिसाबले १३.५ प्रतिशत मानिस दक्षिण एशियामा निरपेक्ष गरिब छन् । नेपाल दक्षिण एशियामा अफगानिस्तान पछिको सर्बाधिक गरिब मुलुक हो । बिगतमा भुटानको अबस्था नेपालको भन्दा नाजुक रहेको थियो, हाल सुदृढ भईसकेको छ । दक्षिण एशियामा गरिबी अत्यन्त न्युन रहेको मुलुक माल्दिभ्समा हो । जहाँको गरिब मात्र २ प्रतिशत छ ।
पञ्चायति कालमा एशियाली मापदण्डमा पुग्ने लक्ष्य राखिएको थियो । ०५२/५३ ताका भरतमोहन अधिकारी अर्थमन्त्री हुँदाको बखत २०६२ सम्ममा नेपालवाट गरिबी, भोकमरी र अशिक्षा उन्मुलन गर्ने कुरा फलाकिएको थियो । गरिबी निवारण गर्ने कुरा गर्न कुनै शासक चुकेका छैनन् तर, सबै वाचा भाषण र आस्वासन मै सीमित छन् । मुलुकमा जे जति राजनैतिक उथलपुथल भएका छन, जे जति बैदेशिक सहायता भित्रिएको छ, जे जस्ता बिकास आयोजनाहरु निर्मााण भएका छन, जे जस्ता आबधिक तथा वार्षिक योजना तय भएका छन सबैको साझा र अन्तिम उद्देश्य गरिबी चिर्नु हो । गरिब सँग बिश्वेश्वर, आफनो गाऊ आफै बनाऊ, युवा स्वरोजगार, गरिबी निवारण कोष कार्यक्रम लगायत कयौं यस्ता कार्यक्रमहरु छन, जसको मुलभूत उद्देश्य गरिबी निवारण नै हो । सन् २०००/१५ को अबधिमा अगाडि सारिएको सहस्राब्दी लक्ष्य, सन् २०२२ सम्ममा बिकासशील मुलुकमा स्तोरोन्नीत हुने लक्ष्य, सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकमा स्तरोन्नी हुने लक्ष्य, सन् २०१६/३० को दिगो बिकासको लक्ष्य मुलतः गरिबी चिर्नमा केन्द्रीभूत छ ।
नेपालको निरपेक्ष गरिबी सन् १९९५ मा ४२ प्रतिशत रहेकोमा सन् २०१० मा २५ प्रतिशत हुदै सन् २०१५ मा २३.८ प्रतिशत ओर्लियो । उक्त गरिबी २०१६ मा भने २५.२ प्रतिशत उक्लिएकोमा हाल २१.१६ प्रतिशत रहेको छ । भुल्नै नहुने कुरा तर उत्पादन बृद्धि भएको कारण गरिबी घटेको, उत्पादन बृद्धि नभएको कारण गरिबी बढेको होईन । १९९५ देखि २०१५ को अबधिमा १८.२ प्रतिशत गरिबी घटनुमा बिप्रेशण मुल कारण थियो भने २०१५/१६ को अबधिमा गरिबी १.४ प्रतिशतले बढनु महाभुकम्प र तराई आन्दोलनको कारक रह्यो ।
राष्ट्रिय बिकास परिषदले तेहै त्रिबर्षीय योजना कालमा (२०७० देखि २०७३) गरिबी २३.८ वाट १८ प्रतिशतमा झार्ने लक्ष्य तय गरेको थियो तर, २०७२ सालमा आएको बिनासकारी महाभुकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण उक्त लक्ष्य बिथोलियो । गरिबी घटनुको बदला २५.२ प्रतिशतमा चुलियो । मुलुकले सन् २०२२ मा बिकासशील मुलुकमा, सन् २०३० सम्म मध्यम आययुक्त मुलुकमा स्तरोन्नीत हुने लक्ष्य सपना देखेको छ । उक्त सपना साकार पार्न बार्षिक औषत ८ प्रतिशत आर्थिक बृद्धि आबश्यक पर्छ । जबकी पछिल्लो एक दशकमा हाम्रो औषत आर्थिक बृद्धि दर ४.१ प्रतिशत मात्र छ ।
एउटा गरिब यसकारणले गरिब हुन्छ कि गरिबीका कारण उसको शिशुले उपर्युक्त आहार पाउदैन
एउटा गरिब यसकारणले गरिब हुन्छ कि गरिबीका कारण उसको शिशुले उपर्युक्त आहार पाउदैन । लेख्न पढन बन्चित हुन्छ । उपर्युक्त पोषण वा शिक्षाको अभाबमा शारीरिक एबं मानसिकरुपमा काबिल हुँदैन । शारीरिक तथा मानसिक दुर्बलताको कारण कार्य क्षमता कमजोर हुन्छ । कार्यक्षमता कमजोर हुँदा आयस्तर उचो हुँदैन र जीबनभर दुखःवाट उन्मुक्ती प्राप्त गर्न सक्दैन । यो नै गरिबीको दुष्चक्र हो र, राज्यको हकमा पनि उक्त नियम लागू हुन्छ ।
हामी यसकारणले गरिब छौं कि हामी पौष्टीक आहार र गुणस्तरीय शिक्षावाट बन्चित छौं । पोषणको अभाबमा शारिरीक रुपमा दुर्बल छौं भने गुणस्तरीय शिक्षाको अभाबमा उद्यमशीलता नाजुक छ । त्यस माथि हामी अल्छी छौं । हामीले आफु भित्रको उर्जा जगाउन सकेका छैनौं । जसका कारण हामी हाम्रा स्रोत साधनको दोहन गर्न सकिरहेका छैनौं ।
तथापि, हामीले यो कुरा बुझ्नु आबश्यक छ कि अहिले धनी कहलिएका मुलुकहरु कुनै दिन गरिब थिए । जापान तथा अमेरिका १९ सताब्दीमा मात्र बिकासको गोरेटोमा डोरिएका हुन । दक्षिण कोरिया, सिंगापुर, मलेसिया, ताईवान, हङकङले संमृद्धिको गोरेटो सन् १९४० पश्चात मात्र कोरेका हुन । यसर्थ गरिबी निवारण कठिन छ तर, असंभव छैन । त्यसका निमित्त सपना देख्न सक्नु पर्छ । सपना अनुरुप योजना बुन्नु पर्छ । योजना कार्यान्वयन गर्ने शाहस, हिम्मत, मेहनत गर्नुपर्छ ।
“








