निर्मला हत्याबारे गृहमन्त्रीः ‘शक्तिशाली’ भनिएका अपराधीलाई दण्डित गरिन्छ

काठमाडौँ, भदौ २९ । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुर घटनामा संलग्न दोषीहरुलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिएका छन् ।

संघीय संसदका माथिल्लो सदन राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री थापाले अपराध नियन्त्रणका लागि मन्त्रालय सदैव क्रियाशिल रहेको बताउँदै संसदमा कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा संलग्न दोषीहरुलाई कानुनको कठघरामा उभ्याइने आश्वासन दिएका हुन् ।

गृहमन्त्री थापाले अपराध नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै घटनाको अनुसन्धान जारी रहेको सांसदलाई जानकारी दिए । उनले निर्मला पन्तको हत्यारा जति नै शक्तिशाली भएपनि दण्डित गरिने बताए ।

साथै उनले घटनाको सत्य तथ्य छानविन र पीडितलाई सहयोग पुर्याउन सबैमा आग्रह गरे । उनले उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसी सुरक्षाको दृष्टिकोणबाट अलग भएकोमा सरकारले सुरक्षा दिने आश्वासन दिएपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएको जानकारी गराए ।

यसैगरी बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राम मनोहर यादवको विरामी भएर मृत्यु भएको गृहमन्त्रीले दाबी गरेका छन्। प्रहरी हिरासतमा विरामी भएका यादवलाई उपचारको क्रममा भदौ १६ गते काठमाडौं स्थिति त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताए।

रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुनका विषयमा छानविन भइरहेको जानकारी दिए। घटनाको मुख्य दोषीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको गृहमन्त्रीले बताए।

त्यस्तै पत्रकार राजु बस्नेतमाथि उजुरी परेकोले पक्राउ गरी कारवाही अगाडि बढेको बताए। उनलाई हतकडी लगाउने विषयमा केही त्रुटि भएको स्वीकार गृहमन्त्री थापाले गरे।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =