डेढ करोड भ्रष्टाचारको अभियोग लागेका पूर्व गृहसचिव पोखरेललाई सर्वोच्चको सफाइ

“
काठमाडौँ, भदौ २९ । डेढ करोड भ्रष्टाचारको अभियोग लागेका पूर्व गृहसचिव पदमप्रसाद पोखरेललाई सर्वोच्च अदालतले सफाइ दिएको छ । विशेष अदालतले गरेको फैसला उल्ट्याउँदै बिहिबार सर्वोच्चले पोखरेललाई सफाइ दिएको हो ।
विशेष अदालतले उनलाई २०६९ असोज १८ गते भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद र ५८ लाख ५९ हजार ७८५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अख्तियारको अभियोग दाबीबाट पोखरेलकी पत्नी र छोरीले पनि सफाइ पाएका छन् ।
विशेषमा हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित गौरी बहादुर कार्की र केदारप्रसाद चालिसेको इजलासले उनलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले विशेषको फैसला उल्टी हुने ठहर गरेको हो। विशेषले जरिवाना अनुसारको बिगो असुलीका लागि घर, गाडी, जग्गा, बैंक व्यालेन्स समेत जफतको आदेश गरेको थियो।
तर, बिहीबार न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले विशेषको फैसला उल्ट्याएको हो। २०३२ साल असारमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका पोखरेलले पदको दुरुपयोग गरी एक करोड ५१ लाख ३८ हजार ८९८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी अख्तियारको थियो । सर्वोच्चले अख्तियारको दाबी अनुसार प्रमाण अभाव रहेको भन्दै उनलाई सफाइ दिएको हो।
२०५७ चैतमा अवकाश पाएका पोखरेलविरुद्ध अख्तियारले तीन वर्षपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०१७ मा टेकेर हदम्यादको मुद्दा खारेज गरिदिएपछि खारेजीविरुद्ध अख्तियार सर्वोच्च पुगेको थियो ।
सर्वोच्चले ९ वर्षपछि हदम्यादका कारण मुद्दाको तथ्यमा प्रवेश नगर्ने विशेषको आदेशमा प्रश्न उठाउँदै पुनः मुद्दा तथ्यमा प्रवेश गरी हेर्न भन्दै विशेषमा नै मुद्दा फिर्ता गरेको थियो। सर्वोच्चको आदेश अनुसार ०६९ वैशाखमै मुद्दा पुनः विशेषमा दर्ता भएको थियो। विशेषले त्यसको चार महिनापछि २०६९ असोज १८ गते उनलाई भ्रष्टाचारी ठहर गरेको थियो।
“








