राष्ट्रपति, प्रधानमन्त्री निवास र सिंहदरबारमा कहिल्यै बत्ती नजाने

काठमाडौँ, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् ।

सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका हुन् ।

“अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “ अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।”

उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए । “अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दो र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि दिन्छौँ ।”

निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाइ जमीनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उनले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुर्याइने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =