निर्मलाको हत्यारामाथि कारबाहीको माग, चम्चाले थाली बजाउँदै कञ्चनपुरमा र्याली

“
कञ्चनपुर, भदौ २८ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाले कञ्चनपुर शान्त बन्न सकेको छैन । हिजो कालो सारीमा तीज मनाएर निर्मलाका लागि लडिरहेका दिदीबहिनीले आज चम्चाले थाल बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् ।
दबाबमुलक संघर्ष समिति को ब्यानरमा भएको प्रदर्शनमा आमा समूहका महिलाहरुले घटनाको सत्य तथ्य विवरण छिटो सार्वजनिक गरी दोषीमाथि कारबाहीको माग गर्दै थाली र चम्चा बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीमाथि कारबाही माग गर्दै आमा समूहले बिहीबार पनि महेन्द्रनगरमा प्रदर्शन जारी राखेका हुन् ।
घटनाको छानविनका लागि सरकारले १५ दिनको म्यादसहित गठन गरेको उच्चस्तरीय छानबिन समितिले तोकिएको मितिमा हत्याराको निष्कर्ष निकाल्न नसकेपछि आमा समूह बुधबारबाट फेरि आन्दोलनमा उत्रिएको हो।
निर्मलाको हत्या भएको ५० दिन पुगिसक्दा पनि सरकारले वास्तविक अपराधी पक्राउ गर्न नसकेको विरोधमा थाली र चम्चा, मोटर साइकल, अटो र साइकलको हर्न बजाएर प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
“








