महानगरले गरे कोरियाली कम्पनी सँग सम्झौता

चितवन, भाद्र, २८ । कोरियाली संस्थासँग आज भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि महानगरले सम्झौता गरेको छ ।

कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरेका थिए । एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने छन् । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले नै व्यहोर्ने जानकारीमा प्राप्त भएको छ । सो अवसरमा महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवन सहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी विस्तृत अध्ययन गरिने बताएका थिए ।

कर्पोरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसङ्ख्याको फोहर व्यवस्थापन गरिरहेको बताए । अध्ययनपछि फोहर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास प्रकट गरे ।

यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि आज सम्झौता भएको हो । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गरेको थियो । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आईरहेको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आईरहेको छ । महानगरमा २९ वडा छ ।

हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीन रुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिगाहा जग्गा छुट्याई सकिएको छ । महानगरले वनलाई क्षतिपूर्तिबापत जिल्लाको माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठ, महानगरका उपप्रमुख पार्वती शाह, कोरियाली कम्पनी प्रतिनिधि, वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =