पत्रकार बस्नेत पक्राउप्रति देउवा र नेपालको प्रतिक्रिया, कसले के भने ?

“
काठमाडौँ, भदौ २९ । गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आ– आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने बताएका छन् ।
बिहिबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले पत्रकारहरुलाई धरपक्कड गरी पत्रकारितालाई निरुत्साहित पार्ने गतिविधि राज्यले गर्न नहुने बताएका हुन् ।
मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने तर निरुत्साहित हुने गरी प्रहरीले दुःख दिन नहुने पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको भनाइ छ ।
त्यस्तै पत्रकार बस्नेत पक्राउप्रति नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आपत्ति जनाएका छन् ।
बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए। उनले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनि सरकारलाई प्रश्न पनि गरे।
समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार विहान पक्राउ परेका बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ। त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो।
“








