कांग्रेसलाई पुर्नसंरचना गर्न जनसम्पर्क समिति अमेरिकाको यस्तो छ सुझाव

“
अमेरिका, भाद्र २७ । अमेरिका स्थित नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसलाई नयाँ संरचनामा लैजान पार्टीको बर्तमान केन्द्रिकृत संरचनालाई परिवर्तन गरी लोकतान्त्रिक ढाँचामा जानुपर्ने बताएको छ ।
देशमा लोकतन्त्र र गणतन्त्र आइसकेपछि पनि पार्टी पुरानै संरचनामा रहेकोले निर्वाचनमा अपेक्षाकृत बहुमत हासिल गर्न नसकेको भन्दै जनसम्पर्क समितिले नेपाली कांग्रेस जस्तो जनतामा आधारित स्वयंसेवी कार्यकर्ता भएको पार्टीलाई अब केन्द्रिकृत संरचनामा राखिरहन नहुने सुझाब दिएको हो ।
पार्टीलाई नयाँ संरचनामा लैजान नेपाली कांग्रेसले विधान समिति गठन गरेर विश्वभरबाट सुझाब संकलन गरिरहेको अवस्थामा अमेरिका स्थित जनसम्पर्क समितिले पनि सुझाब दिएको हो । समितिका केन्द्रिय सदस्य एवं कानुन बिभाग संयोजक कानुन व्यवसायी पिताम्बर भूसालले पार्टीलाई पार्टी पुर्नसंरचनाका विषयमा आफुहरुले सुझाव पठाई सकिएको जानकारी दिए ।
समितिले पार्टीलाई जनआधारित पार्टी बनाउन सांगठनिक संरचना परिवर्तन गरी नेपाली कांग्रेसको आदर्श र सिद्धान्त स्विकार गर्ने कुनैपनि नेपाली नागरिक पार्टीको सदस्य बन्न पाउनुपर्ने, पार्टीका समितिहरु, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य र पार्टीका हरेक तहमा उम्मेद्वार चुन्ने अधिकार दिनुपर्ने तथा समानुपातिक निर्वाचनको लागि टिकट वितरण गर्ने अधिकार केन्द्रिय संसदका लागि केन्द्रिय समिति र प्रदेश संसदका लागि प्रदेश समितिलाई दिन वान्छनिय रहेको बताएको छ ।
यसैगरी, आमरुपमा कार्यकर्ता र नेताको मुल्याङकन गर्ने प्रणालीबारे सदैव असन्तुष्टि रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको औल्याइएको छ । भने, पार्टी भित्र त्याग र बलिदान दिएका कार्यकर्ता र नेताहरुको उचित मुल्याङकन हुनुपर्ने बताएको छ ।
समितिले बुझाएको १३ बुँदे सुझावमा पार्टीको महाधिवेशन हुनु दुई वर्ष अगाडी कृयाशिल सदस्यता लिएका सदस्यहरुबाट निर्वाचन हुनुपर्ने, पदाधिकारी र केन्द्रीय सदस्य सबै निर्वाचित भएर आउनुपर्ने, केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउनुपर्ने, संसदिय समितिमा केन्द्रिय समितिबाट निर्वाचित हुनुपर्ने तथा कार्य समिति सदस्य २५ सदस्यीय भन्दा बढि हुन नहुने सुझाब दिएको छ । यसै गरी समितिले प्रवासमा रहेका जनसम्पर्क समितिका सम्बन्धमा समेत सुझाव दिएको छ ।
पार्टी केन्द्रसँग र विश्वभरका जनसम्पर्क समितिहरु विच समन्वय गर्न गठन भएको नेपाली जनसम्पर्क अन्नतराष्ट्रिय समन्वय समिति विश्व ‘सञ्जाल’ प्रावधान विधानमा राखी विश्व सञ्जालको अधिवेशन सम्बन्धि ब्यवस्था गर्नुपर्ने, सबै राष्ट्रिय समितिहरुको विधानमा एकरुपता ल्याउनुपर्ने, ५०१ क्रियाशिल सदस्यता पुगेका देशहरुलाई एक क्षेत्र बराबरको मान्यता प्रदान गर्नुपर्ने, जनसम्पर्क समितिबाट महाधिवेशनबाट कम्तिमा २ जना केन्द्रिय सदस्यको पदमा उम्मेद्वार हुन पाउने ब्यवस्था हुनुपर्ने लगायतको सुझाब दिएको छ ।
“








