जनस्वास्थ्य कार्यालय सप्तरीमा छापा, अाैषधि खरिदमा व्यापक चलखेल

साउन १२, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयबाट आएको टोलीले म्याद रहेकै औषधि जलाइएको तथा सरकारले रोक लगाएको कम्पनीबाट औषधि किनिएको घटना सार्वजनिक भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा छापा मारेको छ । समाचार सार्वजनिक भए लगत्तै आफूहरुले चासो लिएको बताउँदै छापा मार्ने टोलीका नेतृत्वकर्ता अख्तियार अधिकारी विष्णु कुमार फेगुवा लिम्बुले कसैलाई गलत गर्ने छुट नरहेको बताउनु भयो ।

म्याद रहेकै औषधि जलाइएको तथा सरकारले रोक लगाएको कम्पनीबाट औषधि किनिएको घटनाबारे कार्यालय प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गरेको लिम्बुले बताउनु भयो । टोलीले कार्यालयको कागजातहरु समेत नियन्त्रणमा लिएको छ । ‘हामीले सोधपुछ गर्नुका साथै कागजातहरु पनि नियन्त्रणमा लिएका छौं’ टोली नेतृत्वकर्ता लिम्बुले भने, ‘गल्ती समातिए मुद्दा चलाइनेछ ।’

स्टारमा रहेको औषधि, जलाइएको औषधिको विवरणका साथै आर्थिक कारोबारको सम्पूर्ण कागजात अख्तियारले लगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले गत शुक्रबार म्याद रहेकै लाखौं मूल्य बराबरको औषधि जलाएका थिए । औषधि किन जलाइएको हो ? त्यसको उत्तर अहिलेसम्म कर्मचारीहरुले दिएका छैनन् । साथै, कर्मचारीहरुले रकमको चलखेल गर्न सरकारले सुचिकृत नै नगरेका औषधि खरिद गरेको समेत भेटिएको छ । नेपाल सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्यूटिकल्स औषधि कम्पनीबाट कर्मचारीहरुले गत आर्थिक बर्षमा औषधि खरिद गरेको भेटिएको हो ।

नेपाल सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरीद गरेर यहाँका कर्मचारीहरुले रकमको चलखेल गरेको कार्यालय श्रोतले जनाएको छ । जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरीद गर्नका निम्ति टेण्डर समेत गरिसकिएको थियो । ‘यो कम्पनीसँग ६७ लाखको औषधि खरीद गर्नुपर्ने थियो’ स्रोतले भन्यो, तर केहि कर्मचारीले भएको टेण्डरको वेवास्ता गर्दै सरकारको सूचीमै नरहेको मनोज कम्पनीबाट औषधि खरीद गरेर आर्थिक चलखेल गरेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *