कांग्रेसबाट मन्त्री भएका ९ जनाका लागि नयाँ र पहिलो अनुभव

साउन १२, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार १० जनाले मन्त्री पदमा सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो । प्रदेश नम्बर ३ अन्तरगत काठमाडौं जिल्लाबाट मात्रै ३ जना मन्त्री बनेका छन् । राजेन्द्रकुमार (राजन) केसी रामचन्द्र पौडेल समूहबाट मन्त्री बनेका छन् । भीमसेन दास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट र अम्बिका बस्नेत देउवा समूहबाट मन्त्री बनेका छन् । कांग्रेसले प्रदेश नम्बर १ बाट मीन विश्वकर्मालाई मन्त्री बनाएको छ । यो प्रदेशबाट यसअघि ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बनेका थिए । त्यस्तै, प्रदेश नम्बर २ बाट रामकृष्ण यादव र महेन्द्र यादव मन्त्री बनेका छन् । यो प्रदेशबाट फर्मुल्लाह मन्सुर यस अघि समेत मन्त्री बनिसकेका थिए ।

प्रदेश ३ सिन्धुपाल्चोकका मोहन बस्नेत खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका छन् । भने, प्रदेश नम्बर ४ बाट यज्ञबहादुर थापाले मन्त्री बन्ने अवसर यसपटक पाएका छन् । यसअघि गोपालमान श्रेष्ठ प्रदेश नम्बर ४ बाटै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री भइसकेका थिए । प्रदेश नम्बर ५ बाट सञ्जय गौतम मन्त्री भएका छन् । भने, प्रदेश नम्बर ६ बाट कांग्रेसले एकजना पनि मन्त्री बनाएन । त्यस्तै, प्रदेश नम्बर ७ बाट वीरबहादुर बलायर रहेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरु कसको पृष्ठभूमि के ?

भीमसेनदास प्रधानः रक्षामन्त्री

काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान सक्रिय राजनीतिमा लाग्नु अघि प्राध्यापक थिए । उनी नेपाल प्राध्यापक संघका पूर्व सभापति समेत हुन् । काठमाडौं कांग्रेसको जिल्ला सभापति भइसकेका प्रधान पूर्वमहामन्त्री प्रकाशमान सिंहको खेदाइमा परेका कांग्रेस नेता हुन् । पछिल्लो समय कृष्णप्रसाद सिटौला गुटमा पुगेका छन् । गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको कोटाबाटै मन्त्री पाएका थिए । यसपटक त्यो कोटामा भीमसेन दास परेका हुन् । रसायनशास्त्र अध्ययन गरेका प्रधानले अब रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । विगतमा प्राध्यापनको अनुभव संगालेका उनका दुई छोरी छन् । पहिलोे संविधानसभा चुनावमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका प्रधान ७० सालमा एमालेका युवा नेता योगेश भट्टराईलाई पराजित गर्दै सांसद बनेका हुन् ।

मोहनबहादुर बस्नेतः सूचना तथा सञ्चारमन्त्री

सिन्धुपाल्चोकका कांग्रेस नेता तथा सांसद मोहनबहादुर बस्नेत मार्सल आर्टका खेलाडी हुन् । उनको उमेर ६० पुगिसकेको छ, तर हेर्दा ६० होइन, ४५ पनि नकाटेको जस्तै देखिन्छन् । उनी २०१५ साल भदौमा जन्मेका थिए । बस्नेत जस्तोसुकै समस्या र कार्यकर्ताको भिडभाडको बीचमा पनि बिहानको २ घण्टा समय आफ्नो शारीरिक व्यायाममा ध्यान दिने गर्छन् । १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय थिए । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय भएका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसदको टिकट पाएका थिए । पहिलो निर्वाचनमा उनी एमाले उमेदवार अमृत बोहरासँग पराजीत भए । भने, त्यसपछिको मध्यावधि निर्वाचनमा पार्टीले उनलाई टिकट नदिएर रोहिणीराज सिग्देललाई टिकट दिएपछि उनी बिस्तारै कोइराला परिवारसँग टाढिएका थिए ।

०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद भएका थिए । त्यतिबेला, बस्नेत स्वास्थ्य राज्यमन्त्री समेत बनेका थिए । कोइराला परिवारसँग रुष्ट हुँदै टाढिएका बस्नेत बिस्तारै देउवा क्याममा छिरे । प्रधानमन्त्री देउवाकी पत्नी आरजू राणा र बस्नेत पत्नी माण्डवी राणा दिदीबहिनी समेत हुन् । यही नाताका कारणले गर्दा पनि देउवा र बस्नेत निकै घनिष्ट छन् । पहिलो संविधानसभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । उनले त्यतिबेला कुल ७ हजार मतमात्रै पाएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै संविधान सभामा जान सफल भए ।

देउवा समूहमा रहेका बस्नेत बिस्तारै खुमबहादुर खड्काको निकट बने । एमालेले युथ फोर्स, माओवादीले वाइसीएल गठन गरेपछि बस्नेतकै अगुवाइमा तरुण दस्ता गठन गर्नुपर्छ भनेर पार्टीभित्र उनले चर्काे दबाव दिएका थिए । केही वर्षअघि बाह्रबिसेमा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवालाई लगेर बस्नेतले तरुण दस्ताको सुरुवात गरेका थिए । बस्नेत निडर र हक्की स्वभावका छन् । केही महिना अघि मात्रै अर्थ मन्त्रालयमा पुगेर बस्नेतले कर्मचारीहरुको सातो लिएको चर्चा छ ।

यज्ञबहादुर थापाः कानून मन्त्री

कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञवहादुर थापाले यसपटक पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेका थिए । तर, अर्जुननरसिंह केसीले आफ्ना नातेदार रामजी कुँबरलार्इ टिकट दिलाउन सबै शक्ति लगाएपछि थापा पछि हटेका थिए । अहिले उनी मन्त्री बन्न सफल भएका छन् । संयोग चाहिँ कस्तो पर्‍यो भने ०७० सालको संविधानसभा चुनावमा थापासँग डेढ सय मतको अन्तरमा पराजित भएका एमालेका मानबहादुर जिसी पोखराको मेयर बनेका छन् । लेखनाथमा ०११ सालमा जन्मेका थापाले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो उनको पहिलो अनुभव हो । सांसदको प्रोफाइलमा मन्त्री थापाको शैक्षिक योग्यता र अन्य विवरण केही पनि उल्लेख छैन । ०४९ सालको स्थानीय चुनावमा थापा कास्की जिल्ला विकास समितिको उपसभापति भएका थिए । त्यसबेला थापा आफ्नै सभापतिमाथि मुक्का बर्साएर चर्चामा आएका थिए ।

राजेन्द्र कुमार केसीः खेलकुद मन्त्री

माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० मा पराजित गरेर चर्चामा आएका सांसद राजेन्द्र केसी पछिल्लो समय गुमनाम थिए । कांग्रेसको जिल्लास्तरका नेता भएपनि प्रचण्डलाई चुनावमा हराएकै कारण उनी चर्चामा थिए । यसपटक उनले त्यसको प्रतिफल पाए । विशेषतः कांग्रेस नेता प्रकाशमान सिंहको अडानका कारण राजेन्द्र केसी मन्त्री बन्न सफल भएको बताइन्छ । कृष्णप्रसाद सिटौलाको गुटबाट काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान समेत मन्त्री बन्ने भएपछि प्रकाशमानका लागि राजेन्द्र केसीलाई मन्त्री बनाउनुपर्ने बाध्यता थियो ।

प्रकाशनमान समूहका नवीन्द्रराज जोशी यसअघि मन्त्री भइसकेका कारण राजेन्द्रको पालो आएको हो । रामचन्द्र पौडेल गुटबाट बलबहादुर केसीको नाम अन्तिममा काटिएपछि राजेन्द्र केसीले माैका पाएका हुन् । वि संं ०१५ सालमा कीर्तिपुरमा जन्मेका केसीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनका एक छोरा र २ छोरी छन् । उनी ०४० सालदेखि राजनीतिमा लागेका थिए ।

महेन्द्र यादवः खानेपानी तथा सरसफाइ मन्त्री

सपथ ग्रहणको केहीबेर अघि मात्रै अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम मन्त्रीको सूचीमा चढाइयो । ०५६ सालदेखि लगातार तीनवटा चुनाव जितेका जोशी पहिलोपटक मन्त्री बन्दै थिए, उनलाई शुभचिन्तक र जिल्लाबासीले बधाई समेत दिइसकेका थिए । तर, अन्तिममा नाम काटियो । जोशीको नाम कटाएर एकाएक धनुषाका महेन्द्र यादवको नाम थपियो । २ नम्बर प्रदेशको स्थानीय चुनाव र विमलेन्द्र निधीको प्रतिष्ठाका कारण महेन्द्रको भाग्य चम्किएको चर्चा कांग्रेसवृत्तमा चलेको छ ।

महेन्द्र यादव समानुपातिक सांसद हुन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका यादव कांग्रेस विभाजनपछि प्रजातान्त्रिकमा लागेका थिए । उनले सोही बेला तरुण दलको अध्यक्षमा खुमबहादुरका पक्षधर शंकर भण्डारीलाई पराजित गरेका थिए । त्यसअघि उनी नेविसंघको उपाध्यक्ष पनि थिए । हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् ।

वीरबहादुर बलायरः भौतिक पूर्वाधार मन्त्री

०४६ सालको जनआन्दोलनताका वीरबहादुर बलायर निकै चर्चित विद्यार्थी नेता थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्ने बेला एनपी साउद र चन्द्र भण्डारीहरुले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पारेको समकालीनहरु बताउँछन् । विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै वीरबहादुर बलायर, रामहरी खतिवडा लगायतका युवाहरुले त्यसबेला बानेश्वरमा गिरिजाबाबुको तस्वीरमा कालोमोसो दलेका थिए ।

कोइराला पार्टी कार्यालय पुग्दा उनको गाडीमाथि चढेले विरोध गरेका थिए । देउवा निकट बलायर त्यहाँ कांग्रेसको जिल्ला सभापति भए । ०६४ सालमा टिकट पाए पनि उनले चुनाव जित्न सकेनन् । ०७० मा डोटी १ बाट प्रत्यक्ष निर्वाचित भएका बलायर कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । रमेश लेखक र एनपी साउदहरुको दबदबा रहेको देउवा क्याम्पमा सुदूरपश्चिमबाट यसपटक बलायरले मौका पाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वासपात्र रहेकाले बलायरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको हो । डोटीको लाटामाडौंमा ०२२ साल भदौ ४ गते जन्मेका बलायर गणितका विद्यार्थी हुन् ।

मीनबहादुर विश्वकर्माः वाणिज्य मन्त्री

मीनबहादुर विश्वकर्मा कुनैबेला कम्युनिस्ट थिए । विद्यार्थीकालमा उनी सुनसरीमा अखिलका नेताका रुपमा चिनिन्थे । उनी लामो समय नेपालको दलित आन्दोलनमा संलग्न रहे । अन्तरजातीय बिहे गरेका मन्त्री विश्वकर्माले केही समय दलित अधिकारका सन्दर्भमा टेलिभिजन बहस पनि चलाए । जनआन्दोलनपछि कांग्रेसको नेतृत्व तहमा सक्रिय रहेका विश्वकर्माले छोटो समयमै छलाङ हानेका हुन् । कांग्रेस केन्द्रीय सदस्य विश्वकर्मा पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाको किचन क्याबिनेट सदस्यका रुपमा स्थापित भएका छन् । उनी कांग्रेसभित्र वौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । वि सं ०२४ साल चैतमा भोजपुरको टक्सारमा जन्मेमा मन्त्री विश्वकर्माले एमए/बीएल उत्तीर्ण गरेका छन् ।

उनी नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद हुन् । पौडेल बाहुनकी छोरीसँग विवाह बन्धनमा बाँधिएका मन्त्री विश्वकर्माका एक छोरा र एक छोरी छन् । धरानको एभरेष्ट लाइनमा घर रहेका उनी काठमाडौंको सिनामंगलमा बस्दै आएका छन् । विशेष गरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेपछि विश्वकर्मा चर्चामा अाएका थिए ।

रामकृष्ण यादवः कृषि मन्त्री

धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादव कुनै बेला भूतपूर्व राष्ट्रपति रामवरण यादवको पारिवारिक सहयोगी थिए । रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर राजनीति अघि बढाएका थिए । धनुषाबाट ०६४ र ०७० साल दुवै चुनावमा निर्वाचित यादव कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका छन् । उनी पहिलो व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापति थिए । यसपटक उनलाई विमलेन्द्र निधीको काउन्टर दिन रामचन्द्र पौडेल पक्षले मन्त्री बनाएको बताइन्छ ।

धनुषाको राजनीतिमा विमलेन्द्र निधि र आनन्द ढुंगाना पक्षबीच टस्सल छ । विगतमा रामवरण यादव पक्ष र निधि पक्षको लडाई थियो । अहिले यादव पक्षको विरासत आनन्द ढुंगाना र रामकृष्ण यादवहरुले धानिरहेका छन् । यो समूहमा रामवरण पुत्र डा. चन्द्रमोहन यादव पनि छन् । मन्त्री यादवको जन्म ०१९ साल जेठमा धनुषाको औरहीमा भएको थियो । २०२९ सालदेखि राजनीतिमा सकृय मन्त्री यादवका एक छोरा र तीन छोरी छन् ।

अम्बिका बस्नेतः सहकारी तथा गरिबी निवारण मन्त्री

वि सं. २००७ सालमा काठमाडौंमा जन्मेकी अम्बिका बस्नेतले लामो प्रतिक्षापछि मन्त्री बन्ने अवसर पाएकी हुन् । ०२९ सालदेखि राजनीतिमा लागेकी बस्नेत ०४२ सालको सत्याग्रहमा सक्रिय थिइन् । स्नातकसम्म अध्ययन गरेकी समानुपातिक सांसद बस्नेत कोइराला परिवारकी सदस्य हुन् । तर, पछिल्लो समय देउवा शक्तिमा आउन थालेपछि अम्बिका देउवा गुटमा सामेल भएकी थिइन् । कोइराला परिवारमा हुँदा अवसर नपाएकी उनले देउवा क्याम्पमा आएपछि अवसर पाइन् । बस्नेत ०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी थिइन् । तेह्रथुमकी सीता गुरुङको नाम चर्चामा आइरहेका बेला अम्बिकाको नाम सदर गरिएको हो ।

सञ्जय गौतमः सिँचाइमन्त्री

बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद सञ्जय गौतमलाई मन्त्री पद अचानक फलिफाप भयो । रामचन्द्र पौडेल खेमाबाट उनको नाम अन्तिममा मात्रै आएको हो । यसअघि चर्चामा रहेका बलबहादुर केसी, बद्री पाण्डे, जीवन परियार र धनराज गुरुङलाई पन्छाउँदै सञ्जय मन्त्री बन्न सफल भएका हुन् । बर्दियामा कांग्रेस जिल्ला सभापतिका रुपमा लामो समय काम गरेका गौतम ०७० सालमा मात्रै चुनाव जित्न सफल भएका थिए । पहिलो कार्यकालमै उनी मन्त्री बन्न समेत सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *