कीर्तिपुरको जनसेवा मावि नमूना विद्यालय

प्रकाश सिलवाल, काठमाडौँ । स्थानीय पदमनारायण महर्जनले चाहेर पनि कक्षा ७ उत्तीर्णपछि जनसेवा माध्यमिक विद्यालयमा माथिल्लो कक्षा पढ्न पाउनुभएन । कक्षा ७ बाट ८ मा जाने जम्मा तीनजना मात्र विद्यार्थी भएकाले सो विद्यालयले माथिल्लो कक्षा सञ्चालन गर्न सकेको थिएन, त्यसपछि उहाँ कीर्तिपुरबाट हिँडेर पुतलीसडकको पद्मोदय विद्यालयमा पढ्न आउनुभयो ।

पाँच दशकअघिको यो स्मरण गर्ने जनसेवा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी महर्जन हाल पेशाले इञ्जिनियर हुनुहुन्छ । अहिले विद्यालयमा एक हजार २०० विद्यार्थी भएको देख्दा उहाँमा बेग्लै खुशीको अनुभूति हुन्छ, त्यही भएर उहाँले आफ्नो तर्फबाट विभिन्न अक्षयकोष स्थापना गरी विद्यार्थीलाई छात्रवृत्ति पनि दिँदै आउनुभएको छ ।

काठमाडौँको दक्षिण भेगको पुरानो विद्यालय मानिने कीर्तिपुरको जनसेवा माध्यमिक विद्यालय त्यस नगरपालिकाकै एक मात्र नमूना विद्यालय हो । शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमा छनोट गरेको नमूना विद्यालयका रुपमा सो विद्यालय पर्नाका पछाडि त्यहाँ शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत मुख्य कारण मानिन्छ ।

विद्यालयका प्रधानाध्यापक नन्दकुमारी महर्जन विज्ञान र प्राविधिक विषयका साथै विभिन्न प्रयोगशाला, खेलमैदान, कम्प्युटर र पुस्तकालय अनि भूकम्पप्रतिरोधी भवनले मात्र होइन अङ्ग्रेजी माध्यममा शिक्षकले इमान्दार भएर पढाउनाले विद्यार्थीको आकर्षण देखिएको हो । प्रअ महर्जनले भन्नुभयो, “यसपटक कक्षा नौमा भर्नाका लागि आवेदन दिने १२ जनालाई स्थान अभावका कारण फर्काउनुप¥यो । हाम्रो १५ रोपनी जग्गा पनि अपुग भइसकेको छ ।” विद्यालयमा कक्षा ९ को प्राविधिक विषयसहित तीन सेक्सन गरी १२३ विद्यार्थी छन् ।


विद्यालयले विसं २०७० देखि प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ बाट इलेक्ट्रोनिक इञ्जिनियरिङ कक्षा सञ्चालन शुरु भएको हो । यो कक्षामा वार्षिक रु १० हजार तिरेर विद्यार्थी पढ्छन् भने अन्य साधारणतर्फका विद्यार्थीलाई सामान्य परीक्षा शुल्क र प्रवेश शुल्क लिने गरिएको छ । विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा सहभागी ७२ मध्येले नौ जनाले ‘ए प्लस’ स्तरीकृत अङ्क प्राप्त गरेका थिए भने ‘सी ग्रेड’भन्दा तल आउने विद्यार्थी कोही छैनन् ।

काठमाडौँ जिल्ला शिक्षा कार्यालयका त्यस क्षेत्र हेर्ने विद्यालय निरीक्षक मोतीलाल खनालका अनुसार कीर्तिपुर नगरपालिकाभित्र जनसेवा मावि सफल र नमूना विद्यालय हो । विद्यालयले हालै पानासोनिक कम्पनीसँग सहकार्य गरी जापानका शिक्षकबाट अनलाइन लाइभमार्फत कक्षा ६ र ७ का विद्यालयलाई ब्याट्री र अन्य सामग्री उत्पादन गर्ने अभ्यास कक्षा पनि सुरु भएको छ ।

शिक्षाप्रेमी डिठ्ठा नरबहादुर डंगोलबाट विसं. २००४साउन ३ मा पाँगामा जलविनायक आधार स्कुलका रुपमा दर्ता प्रक्रिया अघि बढेको यो विद्यालय विसं २०३० मा जनसेवा माविमा परिणत भएको हो । काठमाडौँबाट सात किलोमिटर दूरीमा पर्ने यो विद्यालय कीर्तिपुर नगरपालिका–१२ मा पर्छ । विद्यालयमा मुुलुकका ७० भन्दा बढी जिल्लाका विद्यार्थी पढ्छन् । यसको संस्थापक प्रधानाध्यापक इन्दुनाथ अर्याल हुुनुहुन्थ्यो । विद्यालयकै भवनमा विसं २०७० देखि जनाधार सामुदायिक क्याम्पस सञ्चालित छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जन भन्नुहुन्छ, “सबै अभिभावक, शिक्षक, विद्यार्थी र सहयोगी हातहरुले हामीले सफलताको सिँढी चढेका छौँ ।” विद्यालयका अभिभावक शिक्षक सङ्घका अध्यक्ष पत्रकार चन्द्र बानियाँ समुदायका सबैले चाहेमा सामुदायिक विद्यालयलाई निजीभन्दा आकर्षण केन्द्र बनाउन सकिने उदाहरण जनसेवा मावि भएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *