वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी अब मोबाइलमै

“
काठमाडौँ, भदौ २५ । वैदेशिक रोजगार सम्बन्धि काम गर्ने सम्पूर्ण निकायका सूचना अब एकै ठाउँबाट उपलब्ध हुने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार सार्वजनिक गरेका छन् । यहाँ उपलब्ध भएका सूचना मोवाइलबाटै हेर्न सकिनेछ । यसका लागि मोवाइल एप्लिेकेसन तयार भैसकेको श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कुटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, वीमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।
सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो ।
यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने छ ।
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक समेत यहिँ उपलब्ध हुनेछन् । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्ने मन्त्रालयको दावी छ ।
हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ ।सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू हुनेछ ।
“








