भाग ३ : डिजाइनमा मात्र नभई चित्रकलामा पनि अब्बल शंकरनाथ रिमाल

“
काठमाडौँ, २२ भाद्र । २०१९ सालभन्दा अघि नेपालमा झण्डालाई कुनै पनि निश्चित आकार दिँइदैनथ्यो । जसलाई जस्तो मन लाग्यो त्यस्तै नै बनाउने प्रचलन थियो ।
फरक खालको झण्डा बनााउँदा सरकारले झण्डालाई एउटा निश्चित आकार दिनुपर्छ भन्ने धारणाको विकास गर्याे । सोही अनुरुप २०१९ सालमा राजा महेन्द्रको पालामा झण्डा कस्तो बनाउने भन्ने विषयमा कमिटिको गठन गरिएको थियो । उक्त कमिटिमा इन्जिनियर शंकरनाथ रिमाललाई पनि राखिएको थियो ।
विशेष गरी झण्डा बनाउँदा शास्त्रको प्रयोग गरिएको इन्जिनियर रिमाल बताउँछन् । ‘सूर्य तापको प्रतीक हो, चन्द्र शितलताको त्यस्तै निलो रंग खुल्ला आकाश जस्तै स्वतन्त्र हो भने रातो नेपाली विरताको प्रतीक हो ।’ उनले भने । झण्डालाई त्रिकोण आकार दिन समेत समितिले नै निर्णय गरेको थियो । साथै झण्डालाई कस्तो आकार दिने समेत त्यस समयमा नै निर्धारण गरिएको थियो ।
नेपालको झण्डाको प्रचार हाल विश्वभर चर्चित छ । हाम्रो जस्तो त्रिकोण आकारको झण्डा अरु कुनै पनि देशमा छैन ।
सरकारी रुपमा नै कार्यरत रहँदा थुप्रै सरकारी भवन, पुल, मठमन्दिरको डिजाइन गरेका रिमालले निजी रुपमा बनाएका खुट्टे घर र उड्ने घर पनि उत्तीकै चर्चित छन् । उनले बनाएको खुट्टे घर हाल बागबजारमा छ भने उड्ने घर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा राखिएको छ ।
इन्जिनियर रिमाल नयाँ पिढीका लागि ज्वलन्त उदाहरण हुन् । एउटा घर निर्माणका लागि नक्सा कोर्नु मात्र इन्जिनियरिङ नभएर त्यस वरिपरिको संरचना, परिवारको संख्याको आधारमा कोठाको निर्धारण, वरिपरि भौतिक पूर्वाधारको सम्भाव्यता, सामााजिक, आर्थिक पक्ष आदि सबैलाई समेट्नुपर्ने उनी बताउँछन् ।
रिमालमा कुनै घरको डिजाइन गर्ने कला मात्र होइन सहरलाई कस्तो बनाउनुपर्छ भन्ने क्षमता समेत छ । डिजाइनकै क्रममा उनले टिकापुर सहरको डिजाइन समेत गरेका थिए । उक्त डिजाइनको निर्माण गर्दा सहरको भौगोलिक अवस्था, कति दुरीमा विद्यालय राख्दा त्यहाँका बालबालिकालाई उचित हुन्छ?, यातायात, सञ्चार आदिको सुविधा, त्यहाँका मानिसका लागि रोजगारीको अवस्था, सडक कहाँ राख्ने ?, एयरपोर्ट कहाँ बनाउने लगायतका कुराहरु समावेश गरिएको उनी बताउँछन् । ‘केही पनि सुविधा भएन र भनेभन्दा धेरै जनघनत्व भएमा त्यहाँ अर्कै खाले समस्या सिर्जना हुन्छ,’ उनले भने ।
कतिपय डिजाइन बनाएर पनि खेर गएकोमा भने उनी दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘डिजाइन बनाउनुपर्याे भनी मकहाँ आउँछन् । दिनरात नभनी बनायो अन्त्यमा अर्कैलाई डिजाइन बनाउन दियौं भन्छन् त डिजाइन गरेको पूर्वाधार नै नबन्ने भयो भन्छन् ।’
२०२७ सालमा सरकारी सेवाबाट अवकास लिइसकेपछि भने उनले व्यवसायिक भवनको डिजाइनमा मात्र समय दिन थालेका थिए । रिमालले स्वदेशमा मात्र नभई विदेशमा समेत डिजाइन गरेका छन् । उनले थाइल्याण्डमा बनाएको नारायण मन्दिरले नेपालका मन्दिरलाई नै भुलाउने खालको छ ।
भक्तपुरको दरवारस्क्वायरलाई नै भुल्याउने गरी उक्त मन्दिरको अगाडि सुनको ढोकाको निर्माण गरिएको छ भने मन्दिरको अगाडि भुपतिन्द्र मल्लको सालिक पनि राखिएको छ ।
उनी मठमन्दिर, घर, पुल आदिको डिजाइनमा मात्र नभई चित्रकला लेखनमा समेत उत्तिकै अब्बल छन् । व्यवसाय सञ्चालनका लागि मात्र नभई आफ्नो शोख पुरा गर्न पनि चित्रहरु बनाउँदै आएको उनी बताउँछन् । हाल उनले नागपोखरीस्थित आफ्नै घरमा चित्रहरु बनाउँदै आएका छन् ।
‘बनाइएका चित्रहरु कहिलेकाहीँ प्रदर्शनीमा पठाउँछु, कति उतै बिक्री हुन्छन्, कति यतै फिर्ता आउँछ ।’ उनले भने ।
रिमाल नेपाल कला परिषदका महासचिव पनि हुन् । यसअर्थमा उनलाई बहुप्रतिभाका धनी पनि भन्न सकिन्छ ।
हाल रिमालले आफ्नै नामबाट कम्पनी दर्ता गरी डिजाइनको काम गर्दै छन् भने नयाँ पिढीलाई रोजगारी समेत दिँदै आएका छन् ।
समाप्त“








