स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. श्रेष्ठ

फागुन २, काठमाडाैं । स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव डा. बावुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा. श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएको जानकारी दिए ।
बाह्रौं तहका डा. श्रेष्ठले आउँदो चैतमा अवकाश पाउँदै छन् । नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ ।
मन्त्री बोहराले ११ औँ तहका डा. तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि बहाल रहेका अर्का निमित्त महानिर्देशक डा. राजेन्द्र पन्त आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा गुहार्न पुगेका थिए ।

सर्वाेच्चले सरकारका नाममा तत्काल सरूवा नगर्न अादेश दिएकाे थियाे । त्यसपछि डा. पाैडेलले पन्तकाे रिटकाे विरूद्ध रिट खारेजीकाे माग गर्दै सर्वाेच्च गएका थिए ।
सर्वोच्चले डा. पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएसँगै विवाद उत्पन्न भइरहेको थियो । डा. श्रेष्ठ महानिर्देशक भएसँगै डा. पन्त आफ्नो दरबन्दी रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर र डा. पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने बुझिएको छ ।
डा. पन्त क्षयराेग केन्द्र जानुपर्ने भएपछि स्वास्थ्य सेवा विभागका केहि कर्मचारी र मेडिकल माफियाकाे साताे गएकाे छ । डेढवर्ष अघि प्रकृया मिचेरै विभागकाे निमित्त महानिर्देशक भएका डा. पन्तले मेडिकल माफिया विशाल पण्डितकाे संरक्षणमा कराेडाैंकाे चलखेल गरेकाे अाराेप छ ।
उनले पण्डितकाे कम्पनी हस्पिटेक इन्टरप्रार्इजेजलार्इ कराेडाैंकाे अाैषधी उपकरण खरिदमा स्पेशसफिकेशन मिलाएर कमिसन खाने गर्दथे । उनी बाल स्वास्थ्य राेग विभागमा रहँदा नै कराेडाैंकाे भ्रष्टाचार गरेकाे अाराेप थियाे ।
यता पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराबाट विभागमा अाएका डा. पाैडेलले भने, अाफ्नाे नियुक्तीमा डा. पन्तले बखेडा झिकेकाे बताएका छन् । बुधबार मकालु खबरसँगकाे कुराकानीमा डा. पाैडेलले विभागमा अाफ्नाे नियुक्ती नियमसंगत नै भएकाे र अाफु काम गर्न अाएकाे बताए ।








