संसदीय सुनुवाई समितिद्वारा अख्तियार प्रमुखमा सिफारिस घिमिरेविरुद्ध उजुरी आह्वान

काठमाडौँ, भदौ २४ । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको नवीनकुमार घिमिरेविरूद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।

भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेलाई सिफारिस गरेको गरेको थियो ।

एक सूचना जारी गर्दै समितिले असोज १ गतेभित्रमा नवीनकुमार घिमिरेमाथि कुनै उजुरी भएमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिमा आफैँ आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् नाम, थर, वतन र सम्पर्क माध्यम खुलाई उजुरी पठाउन आह्वान गरेको हो । यदी उजुरीकर्ताले व्यक्तिगत विवरण गोप्य राख्न चाहेमा भने नखुलाउने समितिले जनाएको छ ।

संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरे पूर्व गृहसचिवका रुपमा नेपाल सरकारको निजामति सेवाबाट अवकाश पाएका व्यक्ति हुन्। उनले रक्षा सचिवको जिम्मेबारीको समेत अनुभव हासिल गरेका छन्।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा सिफारिस गरेको हो । संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि उनी राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

संवैधानिक परिषदको २०७१ फागुन १५ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरेलाई सोही वर्ष चैतमा आयुक्त नियुक्त गरिएको थियो।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकाल सकिएपछि दोस्रो वरीयतामा रहेका घिमिरेले चार महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

२०१२ भदौं २९ मा जन्मिएका घिमिरे सार्वजनिक सुनवाई समितिबाट अनुमोदन भए २०७७ चैतसम्म प्रमुख आयुक्त पदमा बहाल रहनेछन्। आयोग ऐन अनुसार ६५ वर्ष उमेर वा ६ वर्षे कार्यकाल जुन अगाडि आउँछन्, सोही अनुसार अवकाश पाउने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *