शरिरमा भएका अनावश्यक रौं यसरी निकाल्न सकिन्छ

“
मानिसको शरिरमा धेरै रौं भएको राम्रो देखिन्दैन् । विशेष गरी अनुहारमा धेरै रौं भयो भने अनुहार एकदम नराम्रो देखिने हुन्छ यसले अनुहारको सौन्दर्यमा ह्रास ल्याउँछ । महिलाहरुको अनुहार र हातगोडामा आएका रौंले गर्दा महिलाहरु धेरै तनावमा हुने गर्दछ । कतिले त बिभिन्न बिधीको प्रयोग गरी घरमा नै रौं निकाल्छन् भने कतिले ब्यूटी पार्लरमा गएर रौंहरु निकाल्नछन् । बाल्यावस्थामा त्यति रौं नदेखिए पनि युवावस्थामा शरीरभरि रौं आइसकेको हुन्छ ।
खैरो अनि भुवादार किसिमको रौंहरु नदेखिए पनि अलि कालो र बाक्लो रौंहरु झट्ट हेर्दा नै देखिने हुन्छ । यस्तो भुवादार रौं प्रायः सबैको शरीरभरि हुन्छ र नियालेर हेरेमा मात्र देख्न सकिन्छ । तर कसै–कसैको त स्पष्ट देखिने गरी शरीरका अनावश्यक ठाउँमा पनि रौं आएको हुन्छ । यदी रौंहरु निकाल्न परे तालिम प्राप्त व्यक्तिबाट निकालेको नै राम्रो हुन्छ नभए घाउ हुने सम्भावना बढी हुन्छ । रौं निकाल्ने केहि बिधि तल दिएका छन् ।
वाक्सिङ
वाक्स भन्नाले एक किसिमको मइन भन्ने बुझिन्छ । यो माहुरीको चाका, रुखबाट आउने खोटो वा अन्य टाँसिने पदार्थबाट बनाइएको हुन्छ । तर रौं उखेल्नकै लागि भने तयारी वाक्स पनि पाइन्छ । रौं भएको ठाउँमा वाक्स लगाएर त्यसमाथि एक किसिमको वाक्स पेपर लगाइन्छ । यसमा रौं कतातिर लर्केको वा बहेको छ भन्ने खूब विचार पुर्याउनुपर्छ । रौं बहेतर्फ नभएर उल्टोबाट वाक्स पेपर उप्काइन्छ । यसो गर्दा रौं वाक्स पेपरसँगै उखेलिएर आउँछ । यस विधिमा जरैदेखि रौं उखेलिने भएकाले पछि–पछि त्यस ठाउँमा रौं आउन बिस्तारै कम हुँदै जान्छ । तर यो विधिमा धेरै होसियारी हुनुपर्छ ।
सेभिङ
यो रौं हटाउने सबैभन्दा सजिलो र स्वास्थ्यका हिसाबले सुरक्षित तरिका हो । यस विधिमा दाह्री काटेजस्तो ब्लेडले खौरेर अनावश्यक रौं हटाउन सकिन्छ । तर यसमा रौंको जरा जस्ताको त्यस्तै रहने भएकाले चाँडै पुनः उम्रिन्छ । त्यसैले समय–समयमा खौरिरहनुपर्ने हुन्छ ।
ट्वीजिङ
चिम्टीले एक–एक गरी रौं उखेल्ने विधि नै ट्वीजिङ हो । एकादुई फाट्टफुट्ट रुपमा आउने रौंलाई यस विधिले जरैदेखि उखेल्न सकिन्छ । यसरी उखेल्दा फेरि सो रौं उम्रने सम्भावना कमै हुन्छ । एक–दुई वटा रौं फुलेका छन् भने यसरी चिम्टीले निकाल्ने विधि उपयुक्त हुन्छ ।
रिमुभर क्रिम
बजारमा पाइने हेयर रिमुभर क्रिमको प्रयोग गरेर पनि रौं हटाउन सकिन्छ । यो सजिलो उपाय भए पनि छालाको एलर्जी हुने सम्भावना हुन्छ । किनकि यसमा केमिकल मिश्रण गरिएको हुन्छ । त्यसैले विनापरीक्षण यसको प्रयोग गर्नुहुँदैन ।
थ्रेडिङ
धागोको प्रयोगबाट अनावश्यक रौं हटाउने विधिलाई थ्रेडिङ भनिन्छ । प्रायजसो ब्युटिपार्लरमा यही विधिद्वारा आँखिभौंको अनावश्यक रौं उखेल्ने गरिन्छ । यसका लागि धागो समाउने र प्रयोग गर्ने तरिका भने सिक्नुपर्ने हुन्छ । केही दिनको अभ्यासपछि सजिलै जानिन्छ । थ्रेडिङ विधि मसिना भुवादार रौं हटाउन बढी उपयोगी हुन्छ । रौं र स्थानअनुसार २–३ हप्तामा पुनः थ्रेडिङ गर्नुपर्ने हुन्छ ।
ब्लिचिङ
छालाको रंगजस्तै हुने गरी ब्लिचिङ गरेमा रौं देखिँदैन । यस विधिमा सामान्य रौं त्यहीँ छिपाइन्छ र छालाजस्तै देखिन्छ । तर यो ब्लिच हटेपछि रौं देखिन्छ । छोटो समयका लागि यो तरिका उपयोगी हुन्छ । कसै–कसैले छालाका दाग छिपाउन पनि यसको प्रयोग गर्छन् भन्ने सुन्नमा आएको छ । तर जे कामका लागि बनेको हो, सोही काममा मात्र प्रयोग
गर्नु बेस हुन्छ ।
अन्य विधि
रौंको जरामा विद्युत् प्रवाह गरी रौं नष्ट गर्ने इलेक्ट्रोलाइटिस विधि, विकिरण दिएर रौं नष्ट गर्ने विधि, अप्रेसन गरेर रौं हटाउने विधि पनि विकास भैसकेका छन् । तर यी विधिहरु सामान्य प्रशिक्षणका भरमा सम्भव हुँदैन र बढी नै रिस्क पनि हुने भएकाले विशेषज्ञद्वारा मात्र गराइन्छ । अनावश्यक रौं हटाउन आफैंले प्रयास गर्नुभन्दा तालिमप्राप्त व्यक्ति वा विशेषज्ञको परामर्श र सहयोग लिनुपर्छ । अनावश्यक रौं आउने विभिन्न कारण हुन्छन् । ती कारण पत्ता लगाई सो अनुसार कारणकै उपचार गराउनु राम्रो हुन्छ । थाइराइडजस्तो समस्या, तनाव, हर्मोनयुक्त औषधिको सेवन, जातीयता, वंशाणुगत, उमेर आदि विभिन्न कारणले रौं उम्रने कार्यमा प्रभाव पर्ने हुनाले यसतर्फ पनि विचार गर्नुपर्ने हुन्छ । जे होस्, अनावश्यक ठाउँमा रौं आयो भनेर चिन्ता गर्नुभन्दा सर्वप्रथम डाक्टरी परीक्षण गराएर रौं आउनुको कारण पत्ता लगाएपछि सो कारणअनुसार रौं हटाउने उपायतिर लाग्नु बुद्धिमानी हुन्छ ।
“








