इंग्ल्याण्डको खराब सुरुवात, घरेलु मैदानमै स्पेनसँग २–१ ले पराजित
“एजेन्सी, भदौ २४ ।रुसमा भएको विश्वकप फुटबलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको इंग्ल्याण्डले युइएफए नेशन्स लिगमा भने खराब सुरुवात गरेको छ ।
युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धा नेशन्स लिगको लिग ए अन्तर्गत आफ्नो पहिलो खेलमा शनिबार राति इंग्ल्याण्ड स्पेनसँग पराजित भएको हो । स्पेनले इंग्ल्याण्डलाई घरेलु मैदानमै २–१ ले हरायो ।
खेलमा सुरुवाति अग्रता लिए पनि इंग्ल्याण्डले हार टार्न सकेन । ११ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए ।
तर त्यसको दुई मिनेटपछि साउल निगुएजले स्पेनका लागि बराबरी गोल फर्काए । ३२ औँ मिनेटमा रोड्रिगो मोरिनोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र स्पेन २–१ ले विजयी भयो ।
नयाँ प्रतियोगिता नेशन्स लिगको लिग एका लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा बाँडिएको छ ।
लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोर सम्मका समूहमा विभाजन गरिएको छ । होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरु आउँदो जुनमा हुने फाइनल चरणका लागि जाने छन् । यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ ।
नेशन्स लिगको लिग एमा बेल्जियम, आइसल्याण्ड र स्वीट्रल्याण्ड समूह ए टू, इटाली, पोल्याण्ड र पोर्चुगल समूह ए थ्री तथा क्रोएसिया, इंग्ल्याण्ड र स्पेन समूह ए फोरमा छन् ।”