घेदुङको विधान संशोधन गर्न माग

भाद्र २३ धरान । नेपाल तामाङ घेदुङको विधान संशोधन हुनुपर्ने वक्ताहरुले माग गरेका छन् । नेपाल तामाङ घेदुङ, धरान १५ ले आयोजना गरेको विधान सम्बन्धि छलफल कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

नेपाल तामाङ घेदुङको विधान, २०१३ (सातौं संशोधन) मा जिल्ला समन्वय समितिलाई हटाइएको भन्दै बक्ताहरुले जिल्लाको व्यवस्थालाई यथावत राख्न माग गरेका छन् । राज्यको नयाँ पुर्नसंरचना अनुसार संघ, प्रदेश, जिल्ला, नगर/गाउँ र वडा रहने गरी घेदुङको संरचना कायम गरिनुपर्ने उनीहरुले माग गरेका छन् ।

संशोधन गर्नुपूर्व घेदुङको स्थानीय निकायसम्म पर्याप्त छलफल गरी सुझाव संकलन नगरेकोप्रति पनि वक्ताहरुले गुनासो पोखेका छन् । उनीहरुले तामाङको थरगत रुपमा खोलिएका संघसंस्थाहरुलाई पनि घेदुङको विधानले समेट्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, नेपाल तामाङ घेदुङ, धरानका अध्यक्ष प्रेम वाइवा, सचिव राम योञ्जन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, धरानका पूर्व अध्यक्ष तथा घेदुङ धरान १५ का सल्लाहकार रमला पाख्रिन, ङ्यूने लाखाङ् गुम्वाका अध्यक्ष लोकबहादुर थिङ, प्रमुख लामा पुष्पलाल स्याङवो, टोल विकास समितिका अध्यक्ष टिका पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल तामाङ घेदुङका अध्यक्ष टंक योञ्जनको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =