प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवगौडाबीच भेटवार्ता

“
काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एच.डी. देवेगौडाबीच भएको भेटवार्तामा देवेगौडाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिएका हुन् ।
देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्धमा नयाँ उचाइमा पुर्याएको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको उल्लेख गरे ।
शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धि भएको छ । जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको छ ।’
बिहीबार नेपाल भ्रमणका लागि आएका देवेगौडा राष्ट्रपति विद्या भण्डारीसँगलगाय अरु विशिष्ट व्यक्तिहरुसँग शिष्टाचार भेट गर्ने भारतीय दूतावासले जनाएको छ । उनले शुक्रबार बिहान पशुपति नाथको दर्शन गरेका थिए ।
“








