निर्मला हत्या प्रकरणमा प्रहरी नै प्रमुख दोषी– छानविन समिति

कञ्चनपुर, भदौ २२ । निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले घटनामा प्रहरीको अनुसन्धानतर्फ नमोडिइ प्रहरीले लापरबाही गरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था आउनुको पछाडि प्रहरीको अनुसन्धानमा खोट भएको बताएका हुन् ।

निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापरबाही गरेको देखिएको बताउँदै उनले भने, ‘कञ्चनपुरमा निर्मलाको बलात्कारपश्चात् भएको हत्याको घटनालाई लिएर कञ्चनपुरवासी बिना कारण आन्दोलित भएका होइनन्, प्रहरीको कतै न कतै दोष छ, अनुसन्धानमा त्रुटी छ ।’

प्रहरीले शंकास्पद पाटोलाई बेवास्ता गरेकाले नै घटनाले गम्भीर रुप लिएको संयोजक मैनालीको भनाइ छ ।

उच्चस्तरीय छानबिन टोलीले तात्कालीन प्रहरी प्रमुखकै कमजोरीले घटनाको निष्पक्ष छानबिन हुन नसकेको ठहर गर्दै उनले अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताएको जानकारी दिए ।

‘जनताले प्रहरीलाई नभनेका कतिपय कुराहरु हामीलाई भनेका छन्’, उनले भने ‘हामीले त्यो कुरा अनुसन्धानमा खटिएका नयाँ टोलीलाई भनेका छौँ । आशा गरौ चाँडै नै निष्कर्ष निस्किन्छ ।’

गृहमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो ।

टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानबिन समिति शुक्रबार काठमाडौं फर्किँदैछ ।

टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृहमन्त्रालयमा बुझाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =