प्रदेश नं. १ लार्इ लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गरिनुपर्ने भन्दै खबरदारी सभा

“
धनकुटा, भाद्र २२ । पूर्वकाे एक नम्बर प्रदेशलाई लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्न माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्च नेपालले विहिवार खबरदारी सभा गरेको छ । धनकुटामा मञ्चले गरेकाे खबरदारी सभामा प्रदेश नम्बर १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा नामाकरण नगरे जस्ताे सुकै मुल्य चुकाउनु पर्ने बताएका छन् ।
लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्न प्रदेश सरकार तयार नभएको भन्दै संघीय लिम्बूवान मञ्च नेपालले जस्ताेसुकै बलिदानी दिन तयार रहेकाे बताएकाे हाे । संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिंङदेनले लिम्बूवान तथा किराँतहरुको थाकथलोको रुपमा रहेको एक नम्बर प्रदेश ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्न उपयुक्त रहेको भन्दै अन्य नामाकरण भए अाफुहरूलार्इ मान्य नहुने बताए ।
खबरदारीसभामा बाेल्दै अध्यक्ष लिंङदेनले प्रदेश नम्बर १ लाई कोशी वा सगरमाथा प्रदेश राख्न प्रदेश सरकार अगाडी बढेको प्रति अाक्राेस ब्यक्त गरे। लिम्बूवान–खम्बूवान जाति विशेष नभएर यो पहिचान भएको उल्लेख गर्दै केन्द्रीय अध्यक्ष लिंङदेनले प्रदेश नम्बर १ लाई लिम्बूवान–किराँत–खम्बूवान नामाकरण गर्दा जातिय राज्य नहुने जिकिर गरे ।
‘लिम्बूवान राज्य प्राप्तिको लागि धेरै शहिद भइसके, अब फेरी पनि राज्यले लिम्बूवानी जनतालाई उपेक्षा गरे जनताहरु अधिकार प्राप्तिको लागि जस्तोसुकै मुल्य चुकाउन तयार छन्।’ उनले भने ।
खबरदारी सभामा मञ्च सम्बद्ध धनकुटा जिल्ला अध्यक्ष छत्र इङ्नाम, सुनसरी, मोरङ, पाँस्थर, ताप्लेजुङ, इलाम, संखुवासभा, झापा, तेह्रथुम जिल्लाबाट आएका जिल्ला अध्यक्षहरुले स्थानीय सरकारले जनताको ढाँड सेक्ने गरी कर बृद्धि गरेको प्रति चर्काे अाक्राेस ब्यक्त गरेका थिए ।
संघीय लिम्बूवान मञ्च नेपाल प्रान्तिय कार्य समिति धनकुटाको आयोजनामा आयोजित खबरदारी सभा गर्नु पूर्व मञ्चले नारा जुलुस सहितको विरोध र्याली प्रर्दशन गरेको थियो ।
“








