भाद्र २४ मा गोकर्णेश्वर महादेव मन्दिर सफाई गरिन्दै

“काठमाडौँ, भाद्र २२ । यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई बाबुको मुख हेर्ने दिनको लागि सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट बाग्मती सफाइ अभियान गरिने भएको छ ।
पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गर्दछ । त्यो दिन गोकर्णेश्वरमा स्नान, तर्पणसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठको सक्रियतामा यहाँ सफाइ अभियान गर्न लागेका हुन् । भदौ २३ देखि २५ गतेसम्म मन्दिर परिसरमा सफाइ गरिने बाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
भदौ २४ गते दिनभर माइकिङ गर्दै दर्शनार्थीलाई वाग्मतीमा फोहर नगर्न अनुरोध गरिने छ । औँसीका दिन छरपस्ट फोहर व्यवस्थापन गर्ने र औँसीको भोलिपल्ट २५ गते बिहान मन्दिर परिसरमा जम्मा हुने फोहर सफाइ गरी कुहिनेलाई नदी किनारमै खाडल खनेर पुरिदिने र नकुहिनेलाई व्यवस्थापन गरिने जनाइएको छ ।”








