अप्ठ्यारोमा सल्वलाउने हातहरुलाई किन नकाट्ने ?

“
कार्यालय र घरको दुरी केलाउँदा मुस्किलले ५ किलोमिटर छ । ग्वार्को, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर हुँदै अनामनगर सरसर्ती जाँदा बढिमा २० मिनेट लाग्ला तर, राजधानीका सार्वजनिक यातायातले यो ५ किलोमिटरको रुट कटाउन १ घण्टा भन्दा बढि लगाईदिन्छन् । कहिलेकाँही त डेढ घण्टा पनि लाग्छ ।
म गृहिणीसंगै जागीरेपनि भएकोले बिहान घरधन्दा सकाएर कार्यालय हिँड्न लगभग डेढ घण्टा अगाडी नै हिँड्नु पर्ने हुन्छ । कार्यालयमा समयमै पुगिएन भने हाकिमको गाली खानुपर्ने । राजधानीमा सामान्य कोठा भाडा लिएर बस्ने परिवारका लागि मासिक १५–२० हजारको जागिर निल्नु न ओकल्नु ।
ग्वार्कोबाट कोटेश्वर आउन नयाँबाटो (भर्खरै बनेको) लेनको सडकले केहि राहत भएपनि ‘ठाउँ कू ठाउँ’ नेपाल यातायातले यात्रु पर्खँदाको सास्ती खपिनसक्नुको हुन्छ । सिट भरिएपनि नेपाल यातायातलाई पुग्दैन । उसलाई सिटमा भन्दा पनि उभिएर यात्रा गर्ने यात्रुहरु धेरै चाहिन्छ । त्यसमाथि पुरानो नेपाल यातायात पर्ये भने उभिन झन मुस्किल, समाउने ठाउँ हुँदैन, बिचको भागमा दुईतिर सामान राख्ने ठाउँमा समाएर यात्रा गर्नुपर्छ । त्यसमाथि हामी जस्ता सामान्य हाइट भएका महिलालाई झन गाह्रो । कहिलेकाँही महिला सिट मिल्छ, त्यसमा पनि म सधैं बस्न सक्दिन । आफ्नै अगाडी ७०–७५ वर्षको बृद्ध बुबा–आमा आइदिए सिट छाडिदिन्छु ।
कोटेश्वर हुँदै अनामनगर आउने नेपाल यातायात सधैं भरिभराउ नै हुने गर्छ । म भर्खरै राजधानीमा आएकीले मलाई अरु सवारीको रुट पनि थाहा छैन । दश दिन अघिको कुरा हो, विम्स्टेक सम्मेलनले ३ दिन राजधानीका सवारीमा जोरविजोर प्रणाली लगाइएको थियो । त्यही दिन घरबाट कार्यालय निस्कन अलिक ढिलो भयो, लगभग साँढे नौं भइसकेको थियो । ग्वार्को चौकमा यातायातका साधन कम चलेका थिए । त्यो दिन विजोर नम्बर रहेछ । श्रीमानको बाइक नम्बर जोर भएकोले उहाँलाई पुर्याइदिन भन्न पनि सकिन । त्यसै पनि उहाँ विहान आठ नबज्दै आफ्नो काममा जानुहुन्छ ।
ग्वार्काे चोकमा आएर यातायातका साधन हेरें । अरुबेला भन्दा आधा यातायात चलेका थिएनन् । सार्वजनिक यातायात त फाट्टफुट्ट थिए । १५ मिनेटसम्म बस्दा बल्लतल्ल एउटा नेपाल यातायात हुँइकिँदै आयो ।
बाफ रे । खुट्टा हाल्ने ठाउँ सम्म थिएन । पुरुष मात्र हैन महिला समेत ढोकामा एक हातले समाएर झुण्डिएका थिए । आफुलाई जसरीपनि कार्यालय जानुपर्ने भएकोले हातको ब्याग काँधमा भिरेर चढ्ने कोशिष गरें । सामान्य हाइट भएकी म झुण्डिन सकिन । खलासी/कन्डक्टरले ढोकामा टेक्न नपाउँदै ढोकामा झुण्डिएकाहरु सँगै भित्र मलाई बेस्सरी ढकेलिदियो । मेरो पछाडी अरु दुई तिन जना पनि चढे ।
यात्रुहरुको भिडमा भित्र गर्मीले निस्सासिँदो थियो । हावा पस्ने ठाउँ भएन, त्यसमाथि म सानो ज्यान भएकी त्यसै निस्सासिए । केहि गरि टाउको निकाल्न सकिन् । चारैतिरबाट पेलेपछि हात गोडा चलाउने ठाउँ नै भएन ।
राजधानीका सवारी साधनमा महिलामाथि दुब्र्यहार हुन्छ भनेर कहिले काँही सुन्ने र पढ्ने गरेकी थिए, त्यो दिन प्रत्यक्ष अनुभव भयो । एउटा हात बिस्तारै मेरो ढाढ माथि सल्वलाउन थाल्यो । घरी छुने घरी नछुने गर्न थाल्यो । भिडमा पछाडी फर्केर हेर्न सक्ने अवस्था थिएन । एक पल्ट हैन दुई पल्ट हैन पटकपटक भएपछि अर्को पट्टी फर्केर बस्न खोँजे तर, सकिन । एकातिर भिडमा निस्सासिएकी अर्कोतिर त्यो हातले दिएको पिडा खप्नै सकिन । सासै जाला जस्तो भयो । आँखाबाट आँशु नै झर्ला जस्तो भो, मन भक्कानिएर आयो । ‘थुक्क नरपिशाच तेरो घरमा कोहि दिदिबहिनीको बास नहोस्’ भन्दै मनमनै सरापे ।
अब त अत्ति भो,‘दाई गाडी रोकी दिनुस’ भनेर चिच्याए । बाहिर कहाँ आइपुग्यो थाहै थिएन । एक छिनमा गाडी रोकिदियो । चढ्नेबेलामा बेस्सरी ढकेल्ने त्यो खलासी छिटो झर्न कराउँदै थियो ।
मान्छेको भिडले म झर्नै सकिन । बल्लबल्ल झरें । मिनभवन आएको रहेछ । ब्यागबाट पैसा झिकेर दिए । ‘अघि नै भाडा ठिक पार्नुपर्दैन ?’ भन्दै झर्कँदै कन्डक्टरले पैसा लियो ।
ज्यान हातमा आयो भनेर लामो सास फेरें । घडी हेरें । सवा दश भइसकेछ । १० बजेको अफिस मिनभवन मै सवा दश भएपछि झन अफ्टेरो भयो । आज गाली खाने भइयो भन्ने भो । त्यहाँ पनि अर्को गाडी आएन । अब के गर्ने ? बिस्तारै नयाँबानेश्वर तिर हिँड्दै गएँ । सिभिल हस्पिटल अगाडी पुगेपछि एउटा सफा टेम्पोे आइपुग्यो । हात देखाएँ, महिला चालक हुनुहुँदो रहेछ । ‘बहिनी सिट त छैन, यसो भित्र उभिनुस नयाँ बानेश्वरमा सिट खाली हुन्छ ।’ भन्नु भो । ‘हुन्छ’ भनेर चढें ।
नभन्दै नयाँबानेश्वरमा खाली भयो । बल्लबल्ल आनन्दको स्वास फेरें । त्यहाँबाट अनामनगर १० मिनेटमै पुग्यो । सवारी कम चलेका कारण केहि राहत भयो । कार्यालयको ढोकामा पुग्दा पौने एघार भइसकेछ । ला आज त धेरै ढिलो भयो भन्दै भित्र पसे, सँगैका सहकर्मीहरु आइसकेका रहेछन् । सिनियर सरहरु एक जना आउनु भएको रहेछ । धन्न कसैले केहि भनेनन् । ‘सरी है, बस नपाएर ढिलो भयो’ भने । सहकर्र्मी साथीहरु पनि त्यस्तै गरी आएका रहेछन् ।
राजधानी भएपछि सर्वसाधारणका लागि सहज यातायातको ब्यवस्थापन हुनुपर्ने हो, तर हाम्रो राजधानीमा सर्वसाधारणले कहिल्लै सहज रुपमा सार्वजनिक यातायात चढ्न पाउने भएनौं । केहि महिना अघि सरकारले सिण्डकेट खारेज गरेको भनेर निक्कै तामझामपूर्ण प्रचारबाजी गर्यो । सबैले अब नयाँ गाडी आउँछन्, नयाँ रुट थपिन्छ अनी सार्वजनिक यातायात सहज हुन्छ भन्ने अपेक्षा गरेका थिए तर, त्यस्तो परिवर्तन आउन सकेन । हामी जस्ता सामान्य घरपरिवारले निजी सवारी किनेर चढ्न सक्ने अवस्था छैन, सार्वजनिक सवारीमा यात्रा गर्नेलाई सरकारले प्राथमिकता दिए धेरै सहज हुन्थ्यो ।
अर्को कुरा, हामी नेपाली संसारमा बीर नेपाली भनेर चिन्दछौं । हाम्रो संस्कारले ठूलालाई आदर सत्कार गर्ने सम्मानपूर्वक हेर्ने अझ महिलालाई देबीका रुपमा पुज्ने गर्दछौं । तर, त्यो संस्कार, त्यो परम्परा सार्वजनिक यातायातमा किन हट्दै गएको छ ? किन सार्वजनिक यातायातमा महिलामाथि यौन दुब्र्यहार हुन्छ ? महिलाको अस्मिता माथि किन गिद्दे नजर लगाइन्छ ? सृष्टिकर्ताले समेत महिला र पुरुष माथि बिभेद गरेका छैनन् । संसारको सृष्टिको लागि दुबैको उत्तिकै महत्वपूर्ण भूमिका दिएर समान ब्यवहार गरेकोमा यो पुरुषवादी समाज त्यो संरचनालाई किन बिगार्न खोज्दैछ ? किन महिलालाई भोग्य बस्तुमात्र बनाउँदैछ ? एउटी बालिका किन दिउसै विद्यालय परिसरमा आफ्नै सहपाठी, आफ्नै शिक्षकबाट बलात्कृत हुनुपरेको छ ? एउटी किशोरी किन आफ्नै दाजूभाई, बाबु छरछिमेकबाट डराएर भाग्नुपर्ने अवस्था आउँदैछ ? यसको मूल कारण के हो ?
किन महिलालाई भोग्य बस्तुमात्र बनाउँदैछ ? एउटी बालिका किन दिउसै विद्यालय परिसरमा आफ्नै सहपाठी, आफ्नै शिक्षकबाट बलात्कृत हुनुपरेको छ ? एउटी किशोरी किन आफ्नै दाजूभाई, बाबु छरछिमेकबाट डराएर भाग्नुपर्ने अवस्था आउँदैछ ? यसको मूल कारण के हो ?
हामी किन खोतल्न सकिरहेका छैनौं ? हाम्रो परम्परा, धर्म संस्कृतिले त हामी महिलालाई देवीका रुपमा पुजेको छ । हाम्रा धर्मग्रन्थमा हामीलाई ईश्वरको अवतार भनिएको छ । तर, हामी किन ब्यवहारमा उतार्न सकिरहेका छैनौं ? भिडभाडको फाइदा लिएर नारी अस्मिता माथि हात हाल्ने ती हातहरुलाई हामी किन काट्न सकिरहेका छैनौं ? बलात्कारीलाई फाँसीको सजाय माग्दै टाउको खौरने अधिकारबादीहरुले ती हातहरुमा हतकडी लगाउने अधिकार किन मागिरहेका छैनन् ?
कार्यालयभरी मनमा यहि कुरा खेलिइरहे । बसमा भोगेको घटनाले दिनभरी मनमनै रोइरहेँ । सहकर्र्मीहरुलाई समेत भन्न सकिन । झल्झली त्यहि हातले स्पर्श गरेजस्तो भो, मन उद्देलित भो ।
बलात्कारीलाई फाँसीको सजाय माग्दै टाउको खौरने अधिकारबादीहरुले ती हातहरुमा हतकडी लगाउने अधिकार किन मागिरहेका छैनन् ?
५ बज्यो, साथीहरु घर तिर जान थाले, मलाई कुर्र्सीबाट उठ्नै मन लागेन । फेरी त्यहि तमासा, त्यहि भिडभाड, अनी त्यस्तै हातहरुको स्पर्श, त्यस्तै पापिष्टहरुको नजर । उफ्, एउटी महिलाले कसरी यो समाजमा बाँच्ने । कसरी आफ्नो अस्मिताको रक्षा गर्ने ? बिद्रोह गरुँ, समाज उहि, परिबेस उही । पुरुषलाई दोषि देख्नेले महिलालाई पनि बाँकी राख्दैनन् । नगरुँ, यो समाजमा आफुलाई पुरुष भन्ने ब्वाँसाहरुको कूकृत्यबाट बचाउन नसक्ने । ब्याग उठाएँ । अनी बिस्तारै सिढिँबाट उत्रिएँ । अनी बिहानकै जस्तो बस पर्खन थालें ।
“








