साफ च्याम्पियनसिप: सेमिफाइनल पुग्ने बंगलादेशको बलियो सम्भावना
“
काठमाडौं, भदौ २२ । पाकिस्तानलाई हराउँदै बंगलादेशले साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
तोपु बर्मानको दोस्रो हाफको गोल निर्णयक बन्दा बंगलादेशले पाकिस्तानमाथि १–० को जित दर्ता गरायो । प्रतिष्पर्धात्मक खेलमा बंगलादेशले पाकिस्तानको पोस्टमा धेरैपटक प्रहार गरेको थियो । तर पाकिस्तानको बलियो रक्षापंक्तिले गोल हुन पाएन ।
नियमित समय सकिन पाँच मिनेट बाँकी हुँदा बंगलादेशले अग्रता लियो । त्यही अग्रता जोगाउँदै बंगलादेशले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।
समूहमा नेपाल र पाकिस्तानको ३–३ अंक छ भने बंगलादेशको ६ अंक भएको छ । भुटान भने अहिलेसम्म अंकविहीन छ । तर पनि यो समूहमा सबै टिमको सेमिफाइनलको सम्भावना छ ।
सेमिफाइनल पुग्नका लागि अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । पाकिस्तान भुटानसँग पराजित भएको खण्डमा भने नेपालले बंगलादेशलाई बराबरीमै रोके पनि पर्याप्त हुनेछ ।
“