एक अन्तरजातीय प्रेम, जुन युद्ध सावित भयो !

“
काठमाडौँ, भदौ २० । प्रेम के हो ? प्रतिउत्तर एउटै, दुई आत्माको मिलन । सृष्टि चलाउने हिम्मत के ले राख्छ ? यसैले । प्रेम सबैका सफल हुँदैनन्, कसैका लागि जिउने आधार बन्छ प्रेम, त कसैको मुटु रेट्ने तरबार । प्रेममा कति मर्छन् त कतिले मार्छन् पनि । मर्ने, मार्ने या जिउने त्यो प्रेमीको धैर्यधारण शक्तिमा निर्भर गर्छ ।
प्रेम त्यो होइन जहाँ जात हेरियोस्, उमेर हेरियोस्, वर्ण हेरियोस्, धन हेरियोस् । प्रेम त्यो हो, जहाँ मन हेरिन्छ, अरुका लागि आफ्नो जीवन समर्पित गरिन्छ । यो एक निः स्वार्थ प्रतिमुर्तिको रुप हो, जहाँ भगवान स्वयम् लिप्त छन् । प्रेमले धर्तीमै स्वर्गको अनुभुत गराउँछ, महशुस गर्न जान्नेहरुका लागि ।
पहिलेको समयमा भन्दा २१ औँ शताब्दीमा प्रेमको दायरा अलि फराकिलो पाइन्छ । पहिले विवाह र प्रेममा जाति र धर्मको सिमा तोकिन्थ्यो, उमेर तोकिएन त्यो समयमा । त्यो समय जहाँ, अन्तरजातीय विवाह गर्नु भनेको एक युद्ध लडे जत्तिकै हुन्थ्यो, प्रलय आउँथ्यो सफल होस् नहोस् । भनिन्छ नि, प्रेम र युद्धमा सब जायज हुन्छ, सहन सक्नुपर्छ ।
हो एउटा यस्तै कहानी, जुन प्रेम युद्ध भन्दा कम सावित भएन, २१ औँ शताब्दीमा पनि । जहाँ आफ्नै दिदीले बहिनीलाई गुन्डा लगाइन्, आरोप थियो अन्तरजातीय प्रेम । जहाँ आफ्नै बाबुले जेल हाल्ने धम्की दिए, विना अपराध ।
एक २१ वर्षीय युवा र १९ वर्षीय युवती जसले अन्तरजातीय विवाह गर्ने हिम्मत जुटाए समाज र परिवारको विभेदलाई चुनौति दिएर । मन न हो मिलेपछि काबुमा राख्न सकिँदैन ।
प्रेमलाई भर्खरै विवाहमा परिणत गरेको यो जोडी नयाँ शक्ति पार्टीका केन्द्रिय प्रवक्ता दलमर्दन कामी समक्ष आइपुगे सहारा खोज्दै । दमाईसँग विवाह गरेको भन्दै बुबा र दिदीले कुटपिट गरे, छुट्न नमानि घरमा गएपछी दिदिले गुन्डा लगाइ घर घेरेपछी घरबाट भागेर सहारा खोज्दै यी काठमाडौँमा आइपुगेका हुन् । तीन वर्षको प्रेम सम्बन्ध जोगाउन न्याय र सुरक्षा दिलाइ दिनु भन्दै उनीहरु काठमाडौँ आएका हुन् ।
तीन वर्षदेखि प्रेममा रहेका झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं २ जयपुर निवासी २१ वर्षीय लोकेश दर्जी र झापाकै कन्काइ नगरपालिका ७ निवासी १९ वर्षीया देवका विमली आपसी सहमतीमा एक महिना अघि मात्रै श्रीमान् श्रीमतीका रुपमा बाँधिएका थिए ।
तर बाहुनको दम्भ देखाउँदै बुवा गोपाल प्रसाद बिमली र दिदी मिरा बिमली सिटौलाले ललाइ फकाइ प्रहरी चौकीमा बोलाएर छुट्टाउने प्रयास गर्दै प्रहरी चौकीमानै कुटपिट तथा लछारपछार गरे । तर पनि उनीहरुले हिम्मत हारेनन् र दुवैले सँगै बस्ने निर्णय गरे । देवकाले केटालाई नछाड्ने भनेपछि उनका बुवा र दिदी प्रहरी चौकीमै उनलाई छाडि हिँडेका थिए ।
प्रहरी ,बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिलिप श्रेष्ट र स्थानीय दलित अधिकार कर्मिहरुको रोहवरमा केटा लोकेश दर्जिको जिम्मामा रहने बस्ने भनि सामान्य कागज गराइ नव जोडीलाई छाडिएपछी उनीहरु श्रीमान श्रीमतीको रूपमा घरमा बसिरहेको थिए ।
त्यसको केही दिन पनि बित्न नपाउँदै उनीहरुलाई छुटाउने उद्देश्यले देवकाकी दिदी र बाबुले घरमा नचिनेका व्यक्तिहरु १६–१७ जना चुल्ठे मुन्द्रे ल्याइ धम्क्याएर घर घेराउ गरेपछी लुकेर ज्यान बचाएको उनीहरुले बताए ।
त्यसपछी झापा बुधबारे स्थित प्रहरी चौकीमा उजुरी गरेको तर प्रहरीले कुनै सहयोग नगरी आफ्नो सुरक्षा आफैँ गर्नु भनेपछी असुरक्षा ठान्दै भागेर काठमाडौं आएको उनीहरुले दुखेसो पोखे ।
आफू भागेर ज्यान जोगाउँदै गरेपनि अहिले केटा पक्षका परिवारलाई प्रहरी र केटी पक्षका परिवारले दैनिक रूपमा धम्क्याउने र केटाकेटीलाई बोला हैन भने जेलमा हाल्ने नभए जे पनि हुने जस्ता धम्की दिने गरेको उनीहरुले बताए ।
‘हामी कुनै पनि हालतमा छुट्न सक्दैनौँ र असुरक्षाको कारण अहिले घरमा जान पनि सक्दैनौं, हामी जोडी र हाम्रो परिवारको सुरक्षाको लागि पहल गरिदिनुहोस्’ देवकाले भनिन्।
बिमली र परियार आज अधिकारकर्मी दल मर्दन कामी, वकिल, पत्रकारहरुलाई शान्ति सुरक्षाका लागि गुहार माग्दै विभिन्न कार्यलयहरु धाइरहेका छन्। यसैक्रममा उनीहरुले पत्रकारहरुसँग भेट गरि आफु र आफ्नो घर परिवारको शान्ति सुरक्षाका लागि पहल गरिदिन अपिल समेत गरेका छन् ।
“








