नेयमारको गोलमा बार्सिलोनाको दोस्रो जित


“
साउन १२, एजेन्सी । बार्सिलोनाले फेरी एकपटक नेयमारको गोलमा प्रि सिजन खेलमा जित हासिल गरेको छ । अमेरिकामा नेपाली समय अनुसार आज विहान भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो ।
सम्भवतः बार्सिलोनाका नेयमारका लागि यो नै अन्तिम खेल हो भन्ने हल्ला पनि व्यापक रुपमा चलिरहेको छ । उनी विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने चर्चाका बीच नेयमारले लगातार दुई खेलमा बार्सिलोनालाई जित दिलाएका छन् ।
एन्टोनियो भ्यालेन्सियाको गल्तिको फाइदा उठाउँदै नेयमारले ३१ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यहि गोल नै खेलको निर्णायक बन्यो ।
त्यो हारपछि प्रि सिजनमा युनाइटेडको विजय यात्रा टुंगिएको छ । यसअघिका चार खेलमा जोसे माउरिन्होको टोलीले एलए ग्यालेक्सी, रियल साल्ट लेक, सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र रियल म्याड्रिडलाई हराएको थियो ।
“
