साँगुरीगढी गाउँपालिकामा आन्तरिक राजश्व कार्यालयले अनुगमन गर्ने

“
धनकुटा, भाद्र १९ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा आन्तरिक राजश्व कार्यालयद्धारा नियमित अनुगमन गरिने भएको छ ।
मंगलबार गाउँपालिकामा एक दिने करदाता शिक्षा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी व्यवसायीहरुलाई अन्तशुल्क र आयकरको जानकारी गराउँदै करदाता सेवा कार्यालय धनकुटाले अनुगमन गरिने जानकारी दिएको हो ।
आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५ बाट पर्यटकिय क्षेत्र भेडेटारमा बार सहितको होटललाई अनिवार्य भ्याटमा दर्ता गराउनु पर्ने निर्देशन दिएकाले होटल एशोशिएसन अफ भेडेटारसँगको समन्वयमा होटल व्यवसायीहरु बिच कर शिक्षा अन्तरक्रिया गरिएको करदाता सेवा कार्यालय धनकुटाका कर अधिकृत नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
पूर्वको पर्यटकिय स्थल भेडेटारमा दिनप्रतिदिन होटल व्यवसाय बृद्धि भइरहेकोे तर करको दायरामा व्यवसायी छुट्ने गरेका कारण गत साल दर्ता भएको नामको आधारमा भेडेटारमै आएर आर्थिक वर्ष शुरु हुनु भन्दा अगावै कर संकलन गरेको र यस पटक देश संघीयतामा गएसँगै अन्यौलता सिर्जना भएकाले कर संकलन गर्न नआएको अधिकृत कार्कीले बताए ।
आर्थिक वर्ष २०७५/०७६ को संशोधन अन्तशुल्क ऐन अनुरुप होटल रेष्टुरेण्ट तथा लजहरुले स्वदेशी तथा बिदेशी दुवै देशमा उत्पादन भएको मदिरा बिक्री बितरण गर्नु पर्ने भएमा ८ हजार ५ सय राजश्व तोकिएको र स्वदेशी मदिरा मात्र बिक्री बितरण गर्ने व्यवसायीहरुले ४ हजार ५ सय दस्तुर बुझाउनु पर्ने अन्तशुल्क ऐनले ब्यवस्था गरेको आन्तरिक राजश्व कार्यालय सुनसरी धरानका कर अधिकृत रमेश कुमार कार्कीले जानकारी दिए ।
किराना पसल देखि पान पसल सम्म विना ईजाजत लुकाई छिपाई मदिरा बिक्री बितरण गर्ने क्रम बढेकाले बजार अनुगमन तिब्र बनाईएको अधिकृत कार्कीको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा प्रशिक्षण दिँदै अनुगमन गर्दा कानुन विपरित मदिरा विक्री बितरण गरेको पाइएमा अवैधानिक मदिरा जफत गरी ऐन अनुसार बिक्रेतालाई कारबाही गरिने राजश्व अधिकृत कार्कीले होटल व्यवसायीहरुलाई सचेत रही व्यवसायलाई चुस्तदुरुस्त तरिकाले सञ्चालन गर्न समेत अनुरोध गरे ।
अन्तरक्रिया कार्यक्रममा मदिरा तथा सुर्तीजन्य बस्तुको कारोबार सम्बन्धमा भएका व्यवस्थाहरु, अन्तशुल्क ईजाजतपत्र र स्थायी लेखा नं. बारे जानकारी, हरेक आर्थिक वर्षको श्रावण मसान्त भित्र अन्तशुल्क ईजाजतपत्र नविकरण गराई सक्नु पर्ने, खाद्यन्न लगायत अन्य उपभोग्य बस्तुहरु र मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थहरु एकै ठाउँमा राखेर बिक्री बितरण गर्न नपाईने र अन्तशुल्क स्टीकर टाँस नभएको मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ आदि बिक्री बितरण गर्न नपाईने होटल व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा स्थानीय निकायका वडा अध्यक्षहरु, होटल एसोशिसन भेडेटारका पदाधिकारी र साँगुरीगढी गाउँपालिकाका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
“








