यी हुन् चप्पलमै शपथ लिने मन्त्री, श्रेष्ठले किन गरे राज्यमन्त्री अस्वीकार ?

काठमाडौँ, साउन १२  – प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्र यादवलाई अन्तिम समयमा मात्र मन्त्री बनाउने निर्णय गरेपछि उनले कपडासमेत फेर्न नपाई शपथ लिएका थिए। कुर्ता-सुरुवाल र चप्पलमा शपथ लिएका यादवलाई अर्जुन जोशीको नाम काटेर देउवाले मन्त्री बनाउने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । कोइराला समूहबाट कांग्रेसको महाधिवेशनका बेला मात्र देउवा समूहमा प्रवेश गरेका जोशीलाई मन्त्रीमा सिफारिस गरिएको भन्दै उनकै समूहभित्र चर्को आलोचना भएको थियो।

‘महाधिवेशनका बेला मात्र आएका फरमुल्लाह मन्सुर त मन्त्री बने नै, फेरि अर्जुन जोशी पनि मन्त्री बन्ने भएपछि सधैं देउवाको साथमा रहेकालाई अवसर नदिने भन्दै महेन्द्र दाइ (मन्त्री यादव) सहितका हामी सबैले विरोध जनाएका हौं,’ देउवानिकट एक सांसदले भने, ‘आफ्नो गुटमा भएकालाई नसमेट्ने, अन्यत्रबाट फुत्त आउनेलाई मन्त्री बनाउने कुरा स्विकार्न सकिन्न।’ कांग्रेसबाट प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आफूलाई रक्षामन्त्री बनाउने भनेर सहमति भए पनि अन्तिममा नाम काटिएको भन्दै असन्तुष्टि जनाए।

माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले राज्यमन्त्री स्विकार्न पार्टीले गरेको आग्रहलाई अस्वीकार गरेका छन्। तीन नम्बर प्रदेशबाट प्रत्यक्ष निर्वाचित अग्नि सापकोटा र हरिबोल गजुरेलले पटक-पटक मन्त्रीलगायत सुविधाका पद लिइसकेकाले यसपटक रामेछापबाट जितेका श्रेष्ठलाई मन्त्री बनाउने आश्वासन पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए। श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउने चर्चा चलाइए पनि अन्तिम समयमा गृह राज्यमन्त्रीमा प्रस्ताव गरिएपछि आफूले उक्त पद अस्वीकार गरेको श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *