एसिया कप खेल्ने सपना अधुरै, नेपाल हङकङसँग पराजित

काठमाडौँ, भदौ १९ । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको अन्तिम खेलमा हङकङले नेपाललाई पराजित गरेको छ ।

यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरो भएको छ । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपाल हङकङसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा ए मा पर्छ ।

तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवाति दुई खेलमा ओमान र यूएईसँग हार्‍यो । नेपालले प्रस्तुत गरेको ९६ झिनो लक्ष्य हङकङले ३२ ओभर तीन बलमा ७ विकेटको क्षतिमा कभर गर्यो । हङकङका लागि अंशुमन राथले ५२ तथा किन्चित साहले ११ रन बनाए ।

नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले एहसान खान, अंशुमन राथ, किन्चित साह, क्रिस्टोफर जेम्स कार्टर तथा बाबर हायातलाई आउट गरे । यस्तै सागर पुन र बसन्त रेग्मीले एक एक विकेट लिए ।

यसअघि युकेएम ओभर मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ९५ रन बनायो । नेपालका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् भने तीनजनाले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए । यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।

हङकङका एहसान खानले चार तथा तनविर अफजल र मोहम्मद अजिज खानले दुई दुई विकेट लिएका छन् । यस्तै एहसान नवाज र नदिम अहमदले एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *