एसिया कप छनौटः नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य


“
काठमाडौँ, भदौ १९ । मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङ्कङ्सँगको खेलमा नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।
क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनायो ।
नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । नेपालका तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन् ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन बनाए । यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।
हङकङका एहसान खानले चार तथा तनविर अफजल र मोहम्मद अजिज खानले दुई दुई विकेट लिएका छन् । यस्तै एहसान नवाज र नदिम अहमदले एक एक विकेट लिए ।
छनोटको सुरुका दुई खेलमा पराजित भएको नेपाललाई फाइनलमा प्रवेश गर्नका लागि अर्काको भर पर्नु परेको छ । मंगलबार नै हुने अर्को खेलमा ओमानले युएईलाई हराएमात्र नेपालको झिनो आश हुने छ ।
फाइनल प्रवेशका लागि नेपाललाई जितमात्र पर्याप्त हुँदैन्। त्यसका लागि चमत्कारीक प्रदर्शन गर्नुपर्ने हुन्छ। तर नेपालले हङ्कङ्सँगको खेलमा खराब प्रदर्शन गरेको छ । जसले एसिया कपमा छनौट हुने नेपालको सम्भावनालाई खस्काएको छ ।
“
