घर भित्रै पहिरो पस्दा एकै घरका तीन बालबालिकाको मृत्यु

“सल्यान, भदाै १८। सल्यानमा पहिरो घरमा खस्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्लाको बागचौर नगरपालिका १२ बाफुखोलामा माथिबाट झरेको पहिरो घरमा पस्दा ४ वर्षीया मेनुका डाँगी, ६ वर्षीय ललित डाँगी र ८ वर्षीया ललिता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए।

आइतबार बेलुका साढे ५ बजेतिर अविरल वर्षापछि घर माथिवाट झरेको पहिरोका कारण उनीहरुको मृत्यु भएको शाहीले बताए। ‘तीन भाइ बहिना भान्सा कोठामा आगो तापेर बसेको समयमा माथिबाट झरेको पहिरो घर भित्रै पस्दा उनीहरुको मृत्यु भएको हो,’ प्रमुख शाहीले सेतोपाटीसँग भने।

त्यतिबेला उनीहरुका अभिभाव भने गोठमा पशु चौपाया स्याहार्दै गरेको हुँदा जोगिएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा पुरिएका मध्ये दुई जना बालबालिकाको शव फेला पारिसकेको र अर्का एकजना बालकको शवको खोजी भइरहेको शाहीले जानकारी दिए।

यसअघि भदौ १२ गते राति घर भत्किदा बागचौर नगरपालिका ४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *