स्वास्थ्य मन्त्रालयमा गिरिराजमणिको ह्याट्रिक


काठमाडौँ, ११ साउन । माओवादी केन्द्रका प्रभावशाली नेता गिरीराजमणी पोखरेल तेस्रो पटक स्वास्थ्य मन्त्री भएका छन् । पोखरेल दोस्रो जनआन्दोलन पश्चात् गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ साल वैशाख १२ गते पहिलो पटक स्वास्थ्यमन्त्री बनेका थिए ।

दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचित सरकारमा पनि स्वास्थ्यमन्त्री नै भए । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री समेत बनेका उनी यस पटक नेता नारायणकाजी श्रेष्ठको कोटाबाट पुनः स्वास्थ्यमन्त्री बनेर ह्याट्रिक गर्न सफल भए ।
यस अघि शिक्षामन्त्री हुँदा आठौँ शिक्षा ऐन पारित गरेर कार्यान्वयन तहमा पु¥याउन सफल पोखरेल खरो र स्पष्ट कुरा राख्ने नेताका रूपमा परिचित छन् । उनले पूर्वस्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको सुधारमा चालेका कदमलाई निरन्तरता दिन्छन् की दिँदैनन् सबैले चासो दिएका छन् । बुधवार पदभार ग्रहण गर्दै पोखरेलले विगतमा चालिएका सकारात्मक कामलाई निरन्तरता दिँदै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न काम गर्ने बताए । मन्त्री पोखरेलले नयाँ संविधानको मर्मअनुसार जनतालाई स्वास्थ्य सेवा पु¥याउन प्रतिबद्ध रहेको बताए ।

उनले स्वास्थ्य संविधानमै मौलिक हकका रूपमा उल्लेख गरिएकाले जनतालाई त्यसको अनुभूति गराउन प्राथमिकता दिने बताए । ‘हामी सङ्घीयतामा गएका छौँ । सङ्घ, प्रदेश र स्थानीय तहलाई अधिकार दिइएको छ । त्यस अनुसार स्वास्थ्यका काम र अधिकार पनि बाँडफाँट गर्नुपर्नेछ,’ मन्त्री पोखरेलले भने, ‘पहिले हामी सरुवा रोगमा आधारित रणनीति बनाउँथ्यौं । अहिले नेपाली समाजमा नसर्ने रोगको चाप बढेर ६२ प्रतिशत पुगेको हालै एउटा तथ्याङ्क पढेको थिएँ । त्यसैले नयाँ चुनौतीसँग जुध्न नयाँ नीति ल्याइनेछ ।’

उनले निःशुल्क औषधिको कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाईने बताए । भने, चिकित्सा क्षेत्रको समग्र सुधारका लागि ११ औँ पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागमा विषयमा समेत छलफल र संवाद गरेर मन्त्रालय अन्र्तगतका विषयमा सकारात्मक धारणा राखेर जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *