नव प्रवेशी हुएस्कामाथि बार्साको ८ गोल, मेसीको अर्को कीर्तिमान


“ऐजेन्सी, भदौ १८ । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा नव प्रवेशी क्लब हुएस्का ८ – २ गोलको फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले २ /२ गोल गरे । यता सोसिडाड जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र गाल्लर फाल्गुएराले १/ १ गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै हर्नान्डेजको गोलबाट पाहुना टोलीले खेलमा अग्रता बनाएको थियो । तर, १६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । २४ औं मिनेटमा जोर्गेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २ – १ को अग्रता बनायो ।
३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३ – १ को अवस्थामा पुर्याए । त्यसको तीन मिनेट पछि नै हुएस्काका फाल्गुएराले गोल गर्दै खेल ३ – २ अवस्थामा पुर्याए ।
दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्यो । ४८ औं मिनेटमा डेम्बेलेले, ५२ औं मिनेटमा राकीटिच र ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा अलवा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८ – २ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३ खेलबाट ९ अंकका लिगको शीर्ष स्थानमा फर्किएको छ ।हुएस्का विरुद्ध गोल गरेपछि मेसीले ला लिगामा ३७ फरक क्लब विरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्।
“
