स्वास्थ्यकर्मीहरुले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने


“काठमाडौँ, भदौ १८ । आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने भएका छन्।
मुलुकी अपराध ९संहिता०मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन्।
आइतबारदेखि आन्दोलन थालेका उनीहरुले अनिश्चितकालिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
डाक्टर तथा स्वास्थ्यकर्मीले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका थिए।
डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै चार वटा संशोधनको माग गरेको छ।
उपचारका क्रममा विरामीको ज्यान गए डाक्टरलाई जेल सजाय हुने कुरा उनीहरुले हटाउन माग गरेका छन् ।
यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले राखेको छ ।
यसैबीच संहिताको विरोधमा आइतबार चिकित्सकहरुले आ–आफ्ना लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गरेका छन् । संघले देशभरबाट संकलन गरेको छ हजार लाइसेन्स काउन्सिललाई फिर्ता गरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जनकारी दिए । यसबारे छिटो समाधान खोज्न सरकारलाई बिधायन समितिले पनि निर्देशन दिइसकेको छ ।”
