‘बिरामीमारा’ कानूनको विरोध गर्दै डा. केसीले भने– ‘अब डाक्टरले जोखिम मोल्दैनन्’

काठमाडौँ, भदौ १७ । डा. गोविन्द केसीले अहिलेको मुलुकी ऐन संहिताले डाक्टरलाई हतोत्साहित बनाउने बताएका छन् ।

नेपाल चिकित्सक संघले निकालेको विरोध र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ कानूनले बिरामीलाई रिफर गर्न मात्रै डाक्टरलाई प्रेरित गर्ने भएकाले यसबाट गरिब जनता नै मारमा पर्ने बताए ।

जनता मारमा पर्ने कानुन तुरुन्त फिर्ता लिन सरकार समक्ष डा. गोविन्द केसीले आग्रह समेत गरेका छन् । डा. गोविन्द केसीले मुलुकी अपराध संहितालाई  ‘बिरामीमारा कालो कानून’ को संज्ञा दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही नहुने भन्ने होइन, तर अहिलेको बिरामीमारा कानून फिर्ता हुनुपर्ने बताए ।

‘अब डाक्टरहरुले जोखिम मोल्न खोज्दैनन् । हेल्थपोष्टले जिल्ला अस्पताल हुँदै शहरका ठूला–ठूला अस्पतालमा रिफर गर्ने अवस्था सिर्जना हुन्छ‘ उनले भने, ’ठूला अस्पतालले पनि अलि जोखिम लिनुपर्ने अवस्था देख्नेवित्तिकै भारतको दिल्ली वा अन्य देशमा रिफर गर्न थाल्दछन् ।’

उपचार मन नपरेको अवस्थामा मुद्दा गर्न सक्ने र दोषी ठहरिए कारबाही गर्ने व्यवस्था पहिले पनि भएको बताउँदै उनले भने, ‘उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अवस्थामा ज्यानमाराको अभियोग लगाइनु उचित छैन ।’

‘रिफर टु रिफर भइरहँदा बिरामीको एम्बुलेन्समै मृत्यु भयो भने को जिम्मेवार ? केसीले प्रश्न गरे, उपचार गर्दै गर्दा मृत्यु भएको अवस्थामा पनि उपचारमा संलग्न डाक्टर दोषी कि अस्पताल ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *