कञ्चनपुरः मोटरसाइकल दुर्घटनामा हवल्दारको मृत्यु

कञ्चनपुर, भदौ १७ । कञ्चनपुरमा मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका सहायक हवल्दार हरिश भट्टको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गएराति मोटरसाइकल दुर्घटनामा परी भीमदत्त नगरपालिका–१८ खैरहनीका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको हो ।

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

दुर्घटना भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *