मलेसियाविरुद्ध नेपालः नेपाललाई पहिलो झट्का, सुवास आउट


“
काठमाडौँ, भदौ १६ । एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत नेपालले आयोजक मलेसियाविरुद्ध खेलिरहेको छ । वर्षाका कारण प्रभावित भएको खेल ढिला गरी सुरु भएको हो ।
एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको तेस्रो ओभरको तेस्रो बलमा सुवास खकुरेललाई गुमाएको हो । उनले ८ बलमा ९ रन बनाए । वर्षाका कारण खेल ३० ओभरमा छोट्याइएको छ ।
क्रिजमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाह रहेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु भएको हो ।
एसीसी एसिया कप छनोटमा सुरुका दुुई खेलमा पराजित भएको नेपाललाई आज आगामि महिना युुएईमा हुने एसियाकप खेल्ने आशा जिवितै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।
अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा रहेको नेपाललाई बाँकी सबै तीन खेल जित्नु पर्ने दबाब छ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ ।
नेपाल आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।
नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।
“
